काठमाडौँ । श्रम, संस्कृति पार्टीले सरकार संसद् र जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पार्टीका सांसद ध्रुव राईले प्रतिपक्षी दलहरूले निरन्तर उठाएका जनसरोकारका विषयमा सरकारले पर्याप्त चासो नदिएको बताएका हुन् । संसद्मा प्रश्न उठाए पनि जवाफ नपाउने अवस्था रहेको भन्दै उनले जारी अधिवेशनको प्रभावकारितामाथि प्रश्न उठाए।
राईले संसद् प्रभावकारी बहस र सरकारको जवाफदेहिताको थलो बन्नुपर्नेमा अधिवेशन औपचारिकतामा सीमित भएको टिप्पणी गरे। उनका अनुसार प्रतिपक्षी दलको आवाज सुन्ने र त्यसलाई सम्बोधन गर्ने जिम्मेवारीमा सरकार चुकेको छ।
उनले विगतमा जनताबाट विश्वास प्राप्त गरेका राजनीतिक दलहरू अहिले जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको बताए। सरकार प्रमुखले प्रतिपक्षीको आवाजलाई सम्मान गर्नुपर्नेमा त्यसलाई बेवास्ता गरेको उनको आरोप थियो।
संसद्मा आफ्ना विषयले पर्याप्त स्थान नपाए पनि जनताबीच पुगेर उनीहरूका समस्या उठाउने उनले बताए। जनताको घरआँगनमै पुगेर समस्या बुझ्ने र समाधानका लागि निरन्तर दबाब दिने उनको भनाइ थियो।
राईले विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने कुनै प्रयास नगर्न सरकारलाई चेतावनी दिए। सरकार दम्भका साथ प्रतिपक्षीलाई पेलेर अघि बढ्न खोजे त्यसको राजनीतिक मूल्य सरकारले नै चुकाउनुपर्ने उनले बताए।
सांसद राईले जनतासँग प्रत्यक्ष जोडिएका मुद्दामा संसद्मा रहेका सबै सांसद एकजुट भएर आवाज उठाउनुपर्नेमा पनि जोड दिए। उनले रास्वपालाई सत्ता पाँच वर्ष नै टिकाउन सुझाव दिए ।








