Logo
१६ आश्विन २०८३, शुक्रबार
|  Sat Oct 3 2026

‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध


काठमाडौँ, १६ असोजः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले समितिमा भएको सैद्धान्तिक तथा दफावार छलफलबाट प्राप्त सुझावलाई मूल्याङ्कन गरी विधेयकमा आवश्यक संशोधन गरिएको जानकारी दिए ।

मन्त्री पौडेलका अनुसार विधेयकका करिब २९ दफामध्ये १३ दफामा संशोधन गरिएको छ । विधेयकमाथि १५ जना सांसदले संशोधन प्रस्ताव राखे । मन्त्री पौडेलले विधेयक कार्यान्वयनसँगै त्यसमा भएका व्यवस्थाबारे आम नागरिक तथा हवाई यात्रुलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले त्यसका लागि मन्त्रालयले आजैदेखि प्रचारप्रसारको तयारी थाल्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पौडेलले विधेयक निर्माणका क्रममा भाषिक पक्षमा समेत विशेष ध्यान दिइएको उल्लेख गर्दै कानुनका प्रावधान दोहोरो अर्थ नलाग्ने, स्पष्ट र यात्रुले समेत सहज रूपमा बुझ्न सक्ने बनाउन संशोधन गरिएको बताए ।

मन्त्री पौडेलले विधेयकले यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको मालसामानको सुरक्षालाई समेत सम्बोधन गर्नेगरी व्यवस्था गर्न खोजिएको बताए । उनले विधायन व्यवस्थापन समितिमा भएको सक्रिय सहभागिता र सौहार्दपूर्ण छलफलबाट विधेयकलाई व्यावहारिक र प्रभावकारी बनाउन सहयोग पुगेको भन्दै सभाका अध्यक्ष तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे ।

यसअघि मन्त्री पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए ।सभाबाट उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पास भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार