कसैका लागि परिवार बनेको छ, कसैका लागि ओत लाग्ने घर। कसैका लागि जीवनको कठिन मोडमा भरोसा बनेको छ, त कसैका लागि माया र आत्मीयताको संसार। समाजमा बेसहारा बनेकाहरूको जीवनमा आशाको उज्यालो छर्ने यही मानवीय यात्राको नाम हो—रिमा सेवा समाज।
सात वर्षदेखि निरन्तर सामाजिक सेवामा समर्पित रिमा सेवा समाजले आफ्नो यात्रामा साथ दिने सहयोगी हातहरूलाई सम्मान गर्दै सेवाप्रतिको कृतज्ञता व्यक्त गरेको छ। संस्थाको स्थापनाकालदेखि साथ दिँदै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै समाजले सहयोगको मूल्य केवल रकममा होइन, त्यससँग जोडिएको माया, विश्वास र मानवीय संवेदनामा पनि रहने सन्देश दिएको छ।
शनिबार बुढानीलकण्ठ नगरपालिका–८, केदारनाथ हाइटस्थित संस्थाको आफ्नै नवनिर्मित भवनमा आयोजित विशेष कार्यक्रममा संस्थालाई ५० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने सहयोगदाताको नाम सिलालेखमा अंकित गरिएको छ। बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त सिलालेखको अनावरण गरेका थिए।
कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरियो। विदेशमा रहेर पनि संस्थाको सेवायात्रामा साथ दिँदै आएका सहयोगदातालाई समेत सम्झिँदै धन्यवाद व्यक्त गरिएको थियो। कार्यक्रममा उपस्थित हुन नसकेका उनीहरूका लागि तयार पारिएको सम्मानपत्र सम्बन्धित व्यक्तिसम्म पुर्याउने प्रतिबद्धतासमेत आयोजकले जनाएको छ।
रिमा सेवा समाजका लागि सहयोगदाताहरू केवल आर्थिक सहयोग गर्ने व्यक्ति मात्र होइनन्, उनीहरू संस्थाले अघि बढाएको मानवीय अभियानका सहयात्री पनि हुन्। उनीहरूको साथ र विश्वासले नै सामाजिक सेवाको यात्रालाई निरन्तर अगाडि बढाउन ऊर्जा दिएको संस्थाको भनाइ छ।
यही योगदानको कदर गर्दै समाजले आगामी दिनमा पनि संस्थालाई ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्ति तथा संस्थाको नाम सिलालेखमा थप्दै जाने जनाएको छ। सामाजिक सेवामा योगदान पुर्याउने सहयोगदाताको सम्मान गर्नुका साथै उनीहरूको योगदानलाई स्थायी रूपमा अभिलेखीकरण गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले रिमा सेवा समाजले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गरे। उनले आफू सार्वजनिक पदमा रहे पनि नरहे पनि संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सामाजिक संस्थाले समाजमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष सुमन लामाले आफ्नो वडाभित्र सञ्चालन भइरहेको संस्थाले गर्दै आएको मानवीय सेवाको प्रशंसा गर्दै संस्थालाई सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गरे।
संस्थाका सदस्य एवं अधिवक्ता भरत केसीले स्वागत मन्तव्य राख्दै रिमा सापकोटाले संस्थामार्फत गर्दै आएको सामाजिक योगदानको प्रशंसा गरे।रिमा सेवा समाजकी अध्यक्ष रिमा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले संस्थालाई स्थापनाकालदेखि विभिन्न माध्यमबाट सहयोग गर्दै आएका सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन्।सामाजिक सेवाको बाटो सहज नहुने उल्लेख गर्दै उनले सहयोगीहरूको साथ, विश्वास र सद्भावकै कारण संस्थाले आफ्नो अभियानलाई निरन्तरता दिन सम्भव भएको बताइन्।
सेवा केवल एउटा कार्यक्रम वा औपचारिकतामा सीमित नहुने, बरु निरन्तर जिम्मेवारी र मानवीय संवेदनासँग जोडिएको अभियान भएको सन्देश उनको भनाइमा झल्किएको थियो। संस्थालाई सहयोग गर्ने प्रत्येक व्यक्तिको योगदान आफ्ना लागि महत्त्वपूर्ण रहेको उनले बताइन्।
रिमा सेवा समाजको आश्रममा हाल वृद्धवृद्धादेखि बालबालिकासम्म ६८ जना आश्रित छन्। उनीहरूका लागि आश्रम केवल बस्ने ठाउँ मात्र होइन, दैनिक जीवनलाई निरन्तरता दिने आधार पनि हो।
यस्ता व्यक्तिको हेरचाह, संरक्षण र आवश्यकतासँग जोडिएको जिम्मेवारी पूरा गर्न संस्थालाई निरन्तर सहयोग र साथ आवश्यक पर्छ। यही जिम्मेवारीलाई आत्मसात् गर्दै समाजले विगत सात वर्षदेखि सामाजिक सेवाको अभियान सञ्चालन गर्दै आएको छ।
यस यात्रामा संस्थाले सहयोगी हातहरूको साथ पाएको छ। कसैले आर्थिक सहयोग गरेर, कसैले आवश्यक सामग्री उपलब्ध गराएर त कसैले सद्भाव र विश्वास व्यक्त गरेर संस्थाको अभियानलाई बलियो बनाउँदै आएका छन्।
त्यसैले सहयोगदाताको नाम सिलालेखमा राख्नु संस्थाका लागि केवल नाम लेख्ने काम होइन, कठिन यात्रामा साथ दिने हातहरूप्रति कृतज्ञता व्यक्त गर्ने प्रयास पनि हो।
रिमा सेवा समाजले यसअघि बुढानीलकण्ठ नगरपालिका–७, गल्फुटारस्थित भाडाको घरबाट आफ्नो सेवा सञ्चालन गर्दै आएको थियो। समयक्रमसँगै संस्थाले बुढानीलकण्ठ नगरपालिका–८, केदारनाथ हाइटमा आफ्नै भवन निर्माण गरी त्यहीँबाट आश्रम तथा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्न थालेको छ।
भाडाको घरबाट सुरु भएको सेवायात्रा आफ्नै भवनसम्म आइपुग्नु संस्थाका लागि महत्त्वपूर्ण उपलब्धि हो। यो उपलब्धि संस्थाको प्रयाससँगै सहयोगी मनहरूको साथ र विश्वाससँग पनि जोडिएको छ।
आफ्नै भवनबाट सेवा सञ्चालन हुन थालेसँगै संस्थाले आफ्नो सामाजिक अभियानलाई थप व्यवस्थित रूपमा अघि बढाउने आधार पाएको छ। आश्रममा आश्रित ६८ जनाको जीवनसँग जोडिएको जिम्मेवारी पूरा गर्न यो भवन संस्थाको यात्रामा एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको छ।








