तान्जानिया । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका सभामुख डीपी अर्यालले अष्ट्रेलियाली संसद्का समकक्षीसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान र साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताए ।
उनले भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीपछि अष्ट्रेलिया सरकारले पुर्याएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियन नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गरे ।
सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुकहरू गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गरे ।
भेटमा नेपाल–अष्ट्रेलिया संसदीय सहकार्यका विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको बताए ।उनले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान र संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे ।
सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा नेपाली मूलका समुदायले दुई देशबीचको सम्बन्धलाई थप निकट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
उनले नेपाल र अष्ट्रेलियाबीच पर्यटन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका लागि प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्न सकेमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै यस दिशामा सहकार्यका लागि आग्रह गरे ।भेटका क्रममा अष्ट्रेलियाली समकक्षीले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गरेका थिए ।








