काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझी समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिसहित लुटपाटका घटनाबारे जानकारी दिएको हो । समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका–५ का २६ वर्षीय आयन माझी रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा मकवानपुरको बकैया गाउँपालिकाका ३४ वर्षीय राकेश थिङ र ३६ वर्षीय मनोजकुमार मोक्तान रहेका छन् ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार उक्त समूहले विभिन्न मिति र समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका सिक्री तथा गरगहना लुट्ने र डाँकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । हालसम्म उक्त समूहले १५ वटा मोटरसाइकल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले असोज २१ गते काठमाडौँ महानगरपालिका–३२ जडीबुटी पुलमुनिको सडकखण्डबाट मोटरसाइकलसहित आयन माझीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।
माझीलाई पक्राउ गरेपछि उनको समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका–४ बाट राकेश थिङ र मनोजकुमार मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मनोजले मोटरसाइकल चलाउने र राकेश पछाडि बसेर पैदल यात्रुको सुनको सिक्री लुट्ने गरेको तथा उनीहरूलाई आयन माझीले निर्देशन दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।








