काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो ।
विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिने सञ्चालक समिति सदस्य शाहीले बताए ।
उनका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् । पहिलो चरणमा छ महिनाका लागि ल्याइएको यस कार्यक्रमले डिजिटल भुक्तानीलाई अझ सहज र प्रोत्साहनमूलक बनाउने उनकाे भनाइ छ ।
प्राधिकरणले सहज अनलाइन भुक्तानीबाट समयको बचतका साथै थप सुविधाको लाभ हुने भन्दै विद्युत् महसुल अनलाइनबाट तिरेर थप सुविधाको लाभ लिन आह्वान गरेको छ ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन् । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा ‘काउन्टर’मा गएर महसुल तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिए ।








