काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बाढीले घर तथा पुलहरू बगाएको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै प्रचण्डले प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेका छन्। विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।








