Logo
२७ आश्विन २०८३, मंगलवार
|  Wed Oct 14 2026

एएफसी च्याम्पियन्स लिगमा अल नासर विजयी,फार्गोना ३-१ गोलले पराजित


एजेन्सी । एएफसी च्याम्पियन्स लिग इलिट वेस्ट अन्तर्गत भएको खेलमा अल नासर विजयी भएको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेफ्टची फार्गोनालाई ३-१ गोलले पराजित गर्दै अल नासरले लिगमा पहिलो जित निकालेको हो ।

अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र एन्जेलोले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । फार्गोनाको लागि अलिशेर ओडिलोभले एक गोल फर्काए । खेलको ३३ औँ मिनेटमा एन्जेलोले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

नौ मिनेटपछि रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । ५१ औँ मिनेटमा ओडिलोभले गोल गर्दै फार्गोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६५ औँ मिनेटमा इक्रोम अलिबाएभ रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ७८ औँ मिनेटमा अन्भार गोफुर्भले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अल नासर ३-१ गोलले विजयी भएको हो । जितसँगै अल नासर २ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट ३ अंक जोडेको फार्गोना सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार