Logo
२७ आश्विन २०८३, मंगलवार
|  Wed Oct 14 2026

उद्योगीले भने- ‘एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ,डिलरबाटै ग्यास खरिद गर्नुहोला’


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा सबै ब्रान्डका ग्यास सिलिन्डरको संयुक्त बिक्री तथा साटफेर बुधबारदेखि बन्द गर्ने भएको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै असोज २५ गतेदेखि सुरु गरिएको संयुक्त बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था बुधबारसम्म मात्रै लागू हुने जनाएको हो ।उपभोक्ताले चाडपर्वका समयमा सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको र एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेपछि संघले उपत्यकामा बजारमा उपलब्ध सबै ब्रान्डका ग्यास सिलिन्डरको संयुक्त बिक्री वितरण सुरु गरेको थियो ।

संघका अनुसार नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ । भदौ महिनामा मात्रै काठमाडौँ उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको संघले जनाएको छ ।

संयुक्त बिक्री वितरणको व्यवस्था बन्द भएसँगै उपभोक्ताले अब नियमित रूपमा आफ्ना नजिकका डिलरमार्फत ग्यास खरिद गर्नुपर्नेछ । संघले उपभोक्तालाई नजिकको डिलरमा गई ग्यास खरिद गर्न आग्रह गरेको छ ।

संघले ग्यासको संयुक्त बिक्री वितरण कार्यमा समन्वय र सहकार्य गरेको भन्दै नेपाल आयल निगम लिमिटेड र ग्यास बिक्रेता महासंघ नेपाललाई धन्यवादसमेत दिएको छ ।संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक पहल गरिने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार