Logo
२८ आश्विन २०८३, बुधबार
|  Thu Oct 15 2026

बालबालिका सवार डुङ्गा गंगामा पल्टिँदा १३ बालबालिकाको मृत्यु


पटना । भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रमा मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ । डुङ्गामा सवार गाउँलेहरू अर्को गाउँमा भोजमा सहभागी हुन जाँदै थिए ।

स्थानीयका अनुसार रामपुर श्यामचन्द पञ्चायतको भगतान टोलस्थित माता महारानी स्थाननजिक सिंहेश्वर राय नामका व्यक्तिको घरमा भोजको आयोजना गरिएको थियो। उक्त भोजमा सहभागी हुन करिब २० जना एउटा सानो डुङ्गामा गइरहेका थिए ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार दुर्घटनामा परेका सात जनाको उद्धार गरिएको छ। उनीहरूलाई नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।

तर, घटनास्थलमा सबैभन्दा पहिले पुगेका स्थानीयवासीले प्रशासनले उद्धारका लागि सक्रियता देखाउन ढिलाइ गरेको बताएका छन्।जिल्ला अधिकारी वर्षा सिंहले उद्धार कार्य रातभर जारी रहने जानकारी दिइन्। उनका अनुसार घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोली र स्थानीय गोताखोरहरू पनि परिचालित छन्। हालसम्म १३ जनाको शव फेला परिसकेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !
विचार