Logo
३० आश्विन २०८३, शुक्रबार
|  Sat Oct 17 2026

‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’: गृहमन्त्री गुरुङ


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् ।

एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए  प्रहरीको उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए ।

गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने छ भने ।

उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए ।

उनले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिए  ।

गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिए  ।

उनले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे । उनले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिए  ।

नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार