काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
दशैंको शुभकामना सन्देशमार्फत उनले प्राकृतिक विपद्बाट भएको जनधनको क्षति, राजनीतिक अस्थिरता र खस्कँदो आर्थिक-सामाजिक अवस्थाले देशलाई चुनौतीपूर्ण परिस्थितिमा पुर्याएको उल्लेख गरेका छन् ।
भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै पूर्वराजा शाहले विपद्बाट उत्पन्न पीडालाई शक्तिमा बदल्दै अघि बढ्नुपर्ने बताएका छन् । उनले क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण र प्रभावित नागरिकको तत्काल पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
विपद् व्यवस्थापन तथा पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । सहयोगका नाममा राष्ट्रिय पहिचान र मौलिकता कमजोर हुन नदिन कूटनीतिक रूपमा सचेत रहनुपर्ने सन्देशमा उल्लेख छ ।
पूर्वराजा शाहले मुलुकको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक क्षेत्र अन्योलपूर्ण अवस्थामा रहेको पनि बताएका छन् । यस्तो परिस्थितिबाट बाहिर निस्कन प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउँदै अर्थतन्त्रको सुधारका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको धारणा छ ।
नयाँ पुस्ताले देशको नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै मुलुकलाई आशावादी दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय एकता र आत्मनिर्भरतालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।








