Logo
३० आश्विन २०८३, शुक्रबार
|  Sat Oct 17 2026

नेपाल प्रहरी कठिन परिस्थितिमा पनि नागरिक सुरक्षामा प्रतिबद्ध:आईजीपी कार्की


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

७१ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अमर प्रहरीको बलिदानप्रति उच्च सम्मान व्यक्त  गर्दै महानिरीक्षक कार्कीले वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप मजबुत बनाउने तथा भावी पुस्ताका लागि सक्षम, स्वस्थ, उत्तरदायी र प्रविधिमैत्री सङ्गठन निर्माण गर्ने सङ्कल्प गरे ।

उनले नेपाल प्रहरीको सात दशकभन्दा लामो यात्रामा सङ्गठनका एक हजार ७९८ जना वीर प्रहरी कर्मचारीले राष्ट्र र नागरिक सुरक्षाका खातिर जीवनको आहुति दिएको जानकारी दिए ।

राष्ट्र र नागरिकको सेवाका क्रममा जीवन उत्सर्ग गर्ने ती सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै महानिरीक्षक कार्कीले अमर प्रहरी परिवारजन एवं सन्ततिप्रति उच्च सम्मानभाव व्यक्त गरे ।

उनले कर्तव्यपालनको सिलसिलामा घाइते तथा अशक्त हुनुभएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरे। अमर प्रहरीको समर्पण र बलिदानलाई प्रहरी सङ्गठन र सकल दर्जाले सदैव गौरवका साथ स्मरण गरिरहने उनको भनाइ थियो ।

महानिरीक्षक कार्कीले भोटेकोशी–त्रिशूलीको महाविपत्ति नेपाल प्रहरीको संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्याय बनेर अङ्कित भएको उल्लेख गरे ।

महानिरीक्षक कार्कीले विपद्को सबैभन्दा पीडादायी पक्ष कर्तव्यपालनमै आफ्नै सहकर्मीको क्षति भोगेको भोटेकोशी–त्रिशूली बाढीमा कर्मठ २८ जना प्रहरी कर्मचारी प्रत्यक्ष प्रभावित भएकामा तीन जनाले अमरत्व प्राप्त गरे भने २५ जना प्रहरी कर्मचारी बेपत्ता भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार