Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

आज दशैंको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै


आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती ।दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ(आफ्नो घर फर्किने क्रम पनि बढ्छ ।घटस्थापनाको दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ । शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने चलन छ ।

आजकै दिन हनुमानढोका दरबारको दसैं घरमा गोरखाबाट ल्याइएको फूलपाती बाजा गाजासहित भित्र्याइन्छ । राज्य एकीकरण अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि गोरखा दरवारको फूलपाती हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको इतिहास छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार