Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

‘आर्थिक कारणले दसैँ कसैका लागि बोझ नबनोस्,दसैँले एकता र आत्मीयता बढाओस्’


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना दिँदै सत्यको बाटोमा हिँड्न र सुशासन कायम गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

उनले चाडपर्वमा पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ रमाउनुपर्ने भए पनि बाध्यताले विदेशिनुपर्ने नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

चाडपर्वका अवसरमा घर फर्कन चाहँदाचाहँदै पनि फर्कन नपाई विदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौँ नेपालीको नियति बदल्न सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले विभिन्न विपत्ति र सङ्कटपूर्ण परिस्थितिका बाबजुद नेपालीहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार