भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।
स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो ।
मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । उनलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।
संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघि जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहेको तर आर्थिक कारणले रोकिदैआएको अवस्थामा धार्मिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको पहलमा यसले निरन्तराता पाएको हो ।
राजा राय मल्ले नेपाल सम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोश्रो रुपमा पुज्ने गरेको इनिहास रहेको बताउँदै उनले अबदेखि यस परम्पराले निरन्तराता पाउने विश्वास व्यक्त गरे ।








