पेरिस। गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।
विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको थियो। आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो।
पेरिसमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लरेन्ट नुनेजले शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। उनले सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाट गर्न उक्साउने सन्देशहरू फैलिरहेको भन्दै सम्भावित अशान्तिप्रति सचेत रहन आग्रह गरे।
राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यकाल अन्त्यतिर पुगिरहेका बेला र नयाँ निर्वाचन हुन छ महिना मात्र बाँकी रहेको अवस्थामा प्रदर्शन चर्किएको हो। हालैको एक सर्वेक्षणले अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा अग्रस्थानमा देखाएको छ। पछिल्ला घटनाक्रमले उहाँको राजनीतिक अवस्था थप बलियो बनाएको आकलन गरिएको छ।
यसैबिच, ले पेन नेतृत्वको नेसनल र्याली (आरएन) पार्टीले यस सप्ताहान्तमा ओर्लियन्स सहरमा महाधिवेशन आयोजना गर्दैछ। कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ। सोही सहरमा पार्टीविरुद्ध प्रदर्शन गर्ने समूहहरू पनि जुट्ने तयारीमा रहेकाले सम्भावित झडपलाई लिएर स्थानीय प्रशासन चिन्तित छ।
शुक्रबार राष्ट्रपति म्याक्रोनले माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गर्नुभयो। तर, भेटपछि विद्यार्थी प्रतिनिधिहरूले सरकारले माग सम्बोधन गर्ने ठोस प्रस्ताव नल्याएसम्म आन्दोलन जारी राख्न आफ्ना सहपाठीहरूलाई आह्वान गरेका छन्।
म्याक्रोन सरकारले प्रदर्शनकारीका जायज माग र गत शनिबार भएका लुटपाट, आगजनी तथा तोडफोडका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने बताए। न्यायमन्त्री जेराल्ड डार्मानिनका अनुसार, गत शनिबारको हिंसासँग सम्बन्धित मुद्दामा अदालतले २१७ जनालाई जेल पठाएको छ। उनीहरूमध्ये करिब आधा पहिलोपटक अपराधमा सङ्लग्न भएका व्यक्ति हुन्।








