Logo
१० कार्तिक २०८३, मंगलवार
|  Tue Oct 27 2026

सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनको जित


सर्बिया । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ। यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ।

सन् २०२४ मा नोभी साद रेलवे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले देशव्यापी रूप लिएको थियो। विद्यार्थीहरूले दुर्घटनाको पारदर्शी अनुसन्धान र भ्रष्टाचार नियन्त्रणको माग गर्दै करिब दुई वर्ष अभियान चलाएका थिए।

विद्यार्थी सूचीका उम्मेदवार राडोमिर साइसिकले प्रारम्भिक नतिजाले आफूहरू अधिकांश मतदान केन्द्रमा अगाडि रहेको देखाएको बताए। उनले विजयलाई न्याय, स्वतन्त्रता र मर्यादित सर्बियाको आशासँग जोडे।

निर्वाचनमा करिब ६५ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन सन् १९९३ यताकै उच्च सहभागिता भएको जनाइएको छ। मतदान सकिएको दुई घण्टाभन्दा कम समयमै भुसिकले पराजय स्वीकार गरेका थिए। राजधानी बेलग्रेडमा हजारौँ समर्थकले सडकमा भेला भएर विजय उत्सव मनाएका थिए।

प्रारम्भिक तथ्याङ्कअनुसार विद्यार्थी आन्दोलनले २५० सदस्यीय संसद्मा १३५ देखि १४० सिट जित्न सक्ने भुसिकले बताएका थिए। उनले परिणामका लागि विभिन्न युरोपेली देश र अमेरिकाको ‘डिप स्टेट’ को समर्थन रहेको आरोप लगाए।

विद्यार्थीहरूले देशभर र्यािली र पदयात्रा गर्दै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाएका थिए। बिहीबार बेलग्रेडमा भएको अन्तिम चुनावी र्यातलीमा करिब एक लाख ५० हजार मानिस सहभागी भएको स्वतन्त्र अनुगमनकर्ताले जनाएका थिए।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयन र हङ्गेरीका प्रधानमन्त्री पिटर मग्यारले विद्यार्थी आन्दोलनबाट निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बधाई दिएका छन्। भोन डेर लेयनले कानूनी शासन, सञ्चारमाध्यमको स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्ने बताए।

विद्यार्थी सूचीका अधिकांश उम्मेदवार शिक्षाविद्, कलाकार र विभिन्न क्षेत्रका विशेषज्ञ हुन्। तीमध्ये धेरैसँग राजनीतिक अनुभव कम छ। नोभी साद दुर्घटनाको पारदर्शी अनुसन्धानको मागबाट सुरु भएको आन्दोलन पछि निर्वाचनको मागमा केन्द्रित भएको थियो।

आन्दोलनको दबाब बढेपछि भुसिकले गत महिना आकस्मिक निर्वाचन घोषणा गरेका थिए। उनले प्रधानमन्त्री बन्न राष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो। निर्वाचनको अनुगमन स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले गरेका थिए भने विद्यार्थीले पनि मतदान प्रक्रियाको निगरानी गर्न ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार