Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

४४ लाख डोज भेरोसेल खोप आजै चीनबाट नेपाल आइपुग्दै


सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज दिउँसो २ बजे नेपाल आइपुग्ने भएको छ। सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बिहीबार बेइजिङ गएको थियो। यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र बिहीबार खोप ल्याउने तालिका बने पनि संशोधन गर्दै एक दिन पछाडि सारिएको हो।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।

नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार