काडमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ ।
मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
मन्त्रालयले अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न र आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा, सघन उपचार सेवासहितका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन हुने सुनिश्चित गर्न अनुरोध गरेको छ ।
त्यसैगरी, अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राखी आकस्मिक अवस्थामा तत्काल सेवा प्रदान गर्न तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।
दसैँ बिदाको अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न तथा अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।








