काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराउँदै निर्वाचित भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए । शपथग्रहण समारोहमा ब्राह्मणहरूद्वारा स्वस्ति वाचन तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका थिए । उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको नेतृत्वमा पुगेका हुन् ।
सभापतिमा निर्वाचित भएसँगै थापाले पार्टीलाई नयाँ ऊर्जा र गतिशीलताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको शपथग्रहण भने बडादसैँपछि आयोजना गरिने जनाइएको छ ।








