काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताए ।
हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती
यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए ।








