सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण भएको कुटपिटमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे खोक्सीमा पुरानो रिसइबीका कारण स्थानीयबीच कुटपिट भएको थियो। कुटपिटबाट स्थानीय ४५ वर्षीय सुरेन्द्र दास, उनकी श्रीमती ४० वर्षीया उषा देवी दास तथा छोराहरू २५ वर्षीय राधाकृष्ण दास, २२ वर्षीय हरिकृष्ण दास र १७ वर्षीय देवकृष्ण दास घाइते भएका थिए।
कुटपिटबाट सुरेन्द्रको खुट्टा र दाहिने हातमा, उषाको दाहिने हातमा तथा राधाकृष्णको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। हरिकृष्ण र देवकृष्णलाई भित्री चोट लागेको बताइएको छ। घाइते पाँचै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो। उपचारपछि उनीहरूलाई असोज ३१ गते बिहान डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
कुटपिटको घटनापछि आक्रोशित बनेको समूहले दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। करिब १५० देखि २०० जनाको समूहले मोटरसाइकलमा आगो लगाएको बताइएको छ। आगजनीबाट दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।








