ललितपुर, ६ बैशाख । इतिहास एवम् संस्कृतिवीद, शताब्दि पुरुष डा.सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको उनको उपचारमा संलग्न किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काेका डाक्टरहरुले बताएका छन ।
तथापि उपचारको क्रममा रहेका विरामी संस्कृतिवीद डा.जोशीले भने आफुलाई पहिला विरामी हुँदाताकाको भन्दा अहिले कमजोर महसुस भइरहेको बताएका छन ।
पिसावमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि नयाँ वर्ष २०७९ कै पहिलो दिन अपरान्ह ४ बजे सो अस्पतालको आकस्मिक कक्षमा ल्याइएका डा.जोशीलाई भर्ना गरिएको थियो । उनको उपचार थालेको मंगलबार ६ दिन भयो ।
उनको उपचारमा अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्य लगायतको मुटुरोग, छातीरोग, मिर्गाैलारोग विशेषज्ञहरुको टोली संलग्न रहेको छ ।
‘धेरैथरी रोग एकैचोटी देखिएपछि उहाँलाई एन्टीबायोटिक्स लगायतका औषधि चढाउँदा उहाँलाई अलि कमजोरी भएको हो । उहाँले खाना खाएर आफुलाई बलियो राख्नुपर्नेमा खाना अलि कम खान थाल्नुभएकोले कमजोरी महसुस गर्नुभएको हो’—उपचारमा संलग्न अस्पतालका निर्देशक प्रा.डा.बज्राचार्यले भने । डा.जोशीले हिजोदेखि कम खान थालेका छन् भने आफुलाई थकाई लागेको महसुस गरेका छन् ।
उहाँको १०३ वर्षको जन्मोत्सव मनाउन हामी उहाँलाई छिटै स्वस्थ बनाएर घर पठाउने तयारीमा छौं—प्रा.डा.बज्राचार्यले भने । डा.जोशी सन् १९२० अप्रिल १२ मा जन्मेका हुन् । यही बैशाख ३० गते उनी १०२ वर्ष पुरा गरि १०३ वर्षमा प्रवेश गर्दै छन् ।





