किस्ट अस्पतालमा २० औं सफल मिर्गाैला प्रत्यारोपण
बलराम प्यासी
ललितपुर, ७ बैशाख । नौ महिनासम्म गर्भमा राखी प्रसव पीडा सहेर जन्माएका छोराछोरीले जन्म दिने आमालाई बुढ्यौलीमा सहारा दिनुको साटो दुःख दिएका घटना नेपाली समाजमा नौलो होईन ।
आमाको त्यो अतुलनीय र निश्वार्थ गुण तिर्ने छोरा पनि अपवादको रुपमा यही समाजमा जन्मेका छन् भन्ने चाँहि विरलैै सुन्न पाइन्छ । समाजलाई छोराको कर्तव्य दर्शाउने छोरामध्ये एक हुन, ललितपुर महालक्ष्मी नगरपालिका—५ टिकाथलीका २२ वर्षे जर्ज महर्जन ।
५९ वर्षिया आफ्नी आमा सावित्री महर्जनको दुवै मिर्गाैला फेल भएर आमालाई गाह्रो भएको देख्न नसकेका उनले स्वेच्छाले आफ्नो एउटा मिर्गाैला आमालाई दिई आमाप्रतिको ऋण तिरेर उदाहरणीय छोरा बन्न सफल भएका छन् । मिर्गाैला नदिए आमालाई बचाउन नसकिने अवस्थामा पुगेपछि जर्जले आफ्नो एउटा मिर्गाैला आमालाई दिने निर्णय गरेका थिए ।

यसअघि किस्ट अस्पतालमा गरिएको १९ वटा सफल मिर्गाैला प्रत्यारोपणमध्ये धेरैजसो पत्निले पतिलाई, दिदीले बहिनीलाई र आमाले छोरालाई मिर्गाैला दिएका छन् । छोराले आमालाई मिर्गाैला दिएको घटना भने विरलै पाइन्छ । किस्ट अस्पतालको इतिहासमा पनि छोराले आमालाई मिर्गाैला दिएको यो पहिलो घटना हो ।
ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार सबेरै विहानदेखि मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक टोलीले छोरा जर्जको एउटा मिर्गाैला निकालेर आमा सावित्रीलाई सफलतापुर्वक प्रत्यारोपण गरिदिएका हुन् ।
जर्जको मिर्गाैला झिकेर आमा सावित्रीलाई प्रत्यारोपण गर्ने कार्यमा किस्ट अस्पतालका मानव अंग प्रत्यारोपण अधिकार प्राप्त सर्जन डा.नारायण भुषालको नेतृत्वमा मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिष्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभागका प्रा.डा.रामभक्त कोजु, डा.महालक्ष्मी देउजा र डा.स्मृति कोइरालाको साथै मुटुरोग विशेषज्ञको टोली खटिएको थियो ।
मिर्गाैलाको प्रत्यारोपण सफल भएपछि आमाछोरा दुवैको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र उनीहरुलाई आईसियुमा सारिएको छ ।

कृष्णगोविन्द र सावित्री महर्जनका चार छोरी मञ्जु, अञ्जु, अञ्जुली र कृषा महर्जनपछि जन्मेका एकमात्र छोरा २२ वर्षिय जर्जले आमा सावित्रीलाई बचाउन आफ्नो मिर्गाैला दिएका हुन् । जर्ज राजधानीको इस्लिङ्गटन कलेजबाट हालै बिएस्सी अनर्स गरेका आइटि प्रोफेशनल हुन । उनका चार दिदीमध्ये ३ जनाको विहेवारी भईसक्यो ।
मिर्गौला प्रत्यारोपण गर्नुभन्दा तीनदिन अघिदेखि अस्पतालको सातौं तल्लाको क्याविनको ७२७ नम्वर शैय्यामा छोरा जर्ज र ७२८ मा आमा सावित्रीलाई भर्ना गरिएको थियो ।
आफ्नो एक्लो छोराले आफुलाई एउटा मिर्गाैला दिने भनेपछि आमा सावित्रीलाई आफ्नो मिर्गाैलाको समस्या समाधान हुने खुसी भन्दा पनि मुटुको टुक्रा समानको आफ्नो एकमात्र छोरालाई केही हुन्छ कि भन्ने पिरलो थियो । त्यसैले उनको आँखा ओभानो देखिदैंनथ्यो । संगैको शैय्यामा रहेका छोरा जर्जले आमालाई सम्झाईरहेका थिए, आफुलाई केही हुँदैन भनेर ।
आफ्नो एक्लो छोराले आफुलाई एउटा मिर्गाैला दिने भनेपछि आमा सावित्रीलाई आफ्नो मिर्गाैलाको समस्या समाधान हुने खुसी भन्दा पनि मुटुको टुक्रा समानको आफ्नो एकमात्र छोरालाई केही हुन्छ कि भन्ने पिरलो थियो । त्यसैले उनको आँखा ओभानो देखिदैंनथ्यो । संगैको शैय्यामा रहेका छोरा जर्जले आमालाई सम्झाईरहेका थिए, आफुलाई केही हुँदैन भनेर ।

त्यसो त छोराको एउटा मिर्गाैला झिकेर आमालाई प्रत्यारोपण गर्न मिर्गाैला लिने आमा र मिर्गाैला दिने छोरामा कानुनी र स्वास्थ्य सम्वन्धी कुनै समस्या छ या छैन भनेर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालका सम्वन्धित विशेषज्ञहरुले लामो समयदेखि अध्ययन गरि प्रत्यारोपणको तयारी गरीसकेका थिए । कानुनी अड्चन नभएपछि प्रत्यारोपणको लागि विस्तृत रुपमा मिर्गाैला दिने र लिनेको स्वास्थ्य जाँच गरिएको थियो ।
मिर्गाैला प्रत्यारोपण गर्नु एकदिन अघि मंगलबार सो अस्पतालका प्रिन्सिपल प्रा.डा.बालमान सिंह कार्की, अस्पतालका मेडिकल निर्देशक प्रा.डा.सुरज बज्राचार्य, सञ्चालक एवम् शल्यक्रिया विभागका जनरल सर्जन डा.अभिशेक थापा, मानव अंग प्रत्यारोपणको लागि बनेको कानुन समितिका संयोजक सहप्राध्यापक डा.किशोर सिंह बस्नेत र अस्पतालका प्रमुख कार्यकारी निर्देशक अमिश पाठक सम्मिलित मिर्गाैला प्रत्यारोपण वैठकमा अंग प्रत्यारोपण अधिकार प्राप्त सर्जन डा.नारायण भुषाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिष्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा.निकेश बज्राचार्यले मिर्गाैला दिने छोरा जर्ज र ग्रहणकर्ता आमा सावित्रीको स्वास्थ्य तथा कानुनी पक्षबारे जानकारी गराएका थिए ।
अस्पतालमा अंग प्रत्यारोपणको लागि आउने विरामी र दाताहरुवीच अस्पतालको तर्फबाट प्रत्यारोपण संयोजकद्वय सुप्रिना प्रजापति र सुस्मिता श्रेष्ठले प्रत्यारोपणको संयोजन गर्दै आएका छन् ।

२०७७ फागुनदेखि मानव अंग प्रत्यारोपणको लागि अनुमति पाएको सो अस्पतालले २०७८ साल बैशाख ७ गतेदेखि सो वर्षभरि १९ जनाको सफल मृगौला प्रत्यारोपण गरिसकेको थियो । २०७९ सालको पहिलो र हालसम्मकै २० औं सफल मिर्गाैला प्रत्यारोपण बुधबार सम्पन्न भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताएका छन् ।
मानव अंग प्रत्यारोपणको लागि अलग पहिचान बनाउने लक्ष्यका साथ किस्ट मेडिकल कलेज शिक्षण अस्पताल लागिपरेको अस्पतालको दावी छ ।

नेपालको प्रचलित कानुन अनुसार मृगौला दिने दाता र प्रत्यारोपण गर्नुपर्ने विरामीको नाता स्पष्ट भएमा र लिने/दिने विरामीको स्वास्थ्यमा कुनै समस्या नदेखिएमा दुई हप्ताभित्रै मृगौला प्रत्यारोपणको काम गर्न सकिने अस्पतालको दावी छ ।
मिर्गाैला दिने दाताबाट एउटा मिर्गाैला झिकेको करीव ३ घण्टाभित्रै ग्रहणकर्तामा मिर्गाैला प्रत्यारोपण गरिने अंग प्रत्यारोपण अधिकार प्राप्त सर्जन डा.भुषाल बताउँछन् । ६ देखि ८ घण्टामा मृगौला प्रत्यारोपणको शल्यक्रिया सकिने सम्वन्धित शल्यचिकित्सक बताउँछन् ।






