Logo
६ कार्तिक २०८३, शुक्रबार
|  Fri Oct 23 2026

हर्क सम्पाङले दिए कर्मचारीहरुलाई कडा चेतावनी


धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई उर्फ हर्क साम्पाङ सरकारी जागीर खाएर पार्टी राजनीति गर्ने बानी परेका कर्मचारीहरुमाथि कडा रुपमा प्रस्तुत हुने भएका छन् ।

पार्टीगत भातृसंगठनको छातामुनि बसेर राजनीति गर्दै आएका धरान उपमहानगरभित्रका कर्मचारीहरुले आफूलाई संगठित रुपमै असहयोग गर्न लागेको छनक पाएपछि साम्पाङले त्यस्ता कर्मचारीहरुप्रति कठोर रुपमा प्रस्तुत हुने सन्देश प्रवाह गरेका हुन् ।

दुई लाख ४२ हजारभन्दा बढी फलोअर्स रहेको आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, “कुनै कर्मचारीले आफूलाई कुनै राजनीतिक दलसँग आबद्ध भएको छनक दिने अभिव्यक्ति या कायए गरे जागिर छाडेर घर बसी नेता बन्ने र चुनाव लड्ने सुविधा दिनेछु ।”

त्यसलगत्तैको अर्को पोस्टमा उनले भनेका छन्, “जनताको हक हित कुन्ठित गरेर बस्ने सत्ता, सत्ता नभएर शोषक हो । सत्ताको सार सेवा बन्न सक्दैन भने लोकतन्त्र संस्थागत बन्न सक्दैन ।”

मेयरको पदभार सम्हालेदेखि नै धरानवासीहरुको सेवा सुविधामा दत्तचित्त भएर खटेका साम्पाङ खानेपानीको मुहानमा पटकपटक पुगिसकेका छन् । खानेपानी सर्वसुलभ गराउन आवश्यक मर्मत सम्भार गर्ने निर्देशन समेत दिइसकेका छन् । स्थलगत अवलोकनपछि उनले लेखेका थिए, “खानेपानीका बेलहरुमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । मर्मत सम्भारमा तीब्रता ल्याउन निर्देशन दिएको छु । युद्धस्तरमा काम हुनेछ । जय धरान ।”


प्रतिक्रिया दिनुहोस !
विचार