पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु स्व. वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यमा अवरोध पुरयाइएको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।
“नेपालगञ्जवासी जनताको तर्फबाट बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्र चोकमा स्वतःस्फुर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुरयाइएको घटनाबाट हामी स्तव्ध भएका छौं” शाहका सचिव फणिराज पाठकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ ।”
सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ ।
“नेपालको गौरवमय इतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह, युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।” विज्ञप्तिमा भनिएको छ, “इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो, त्यो अत्यन्त दुःखदायी हो ।”
जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुरयाउने महानुभावहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राजवादीहरुको एक समूहले राष्ट्रिय झण्ड हटाएर पूर्वराजा स्व. वीरेन्द्रको सालिक राख्न खोजेपछि गणतन्त्रवादीहरुले विरोध गरेका थिए । त्यस क्रममा झडप हुने देखेपछि प्रहरीले हस्तक्षेप गरी सालिक हटाएको थियो ।
त्यसपछि राजावादीहरु र प्रहरीबीच नै झडप भएको थियो । उनीहरुले सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिक समेत तोडफोड गरिदिएका थिए । घटनामा राजावादी युवाहरुसहित केही प्रहरी घाइते भएका थिए ।








