काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बिहेको प्रश्नले झोक्किएकी छिन् ।
काठमाडौंबाट जितेका नेवार समुदायका उम्मेदवारहरुको सम्मानमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिकृया दिने क्रममा उनी बिहेको प्रश्नले झोक्किएकी हुन् । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा महानगरपालिकाले गरेका कामबारे उपमेयर सुनितालाई सञ्चारकर्मीले पहिलो प्रश्न गरेका थिए । त्यो प्रश्नमा सालिन रुपमा प्रस्तुत भएकी सुनितालाई अन्तिममा सञ्चारकर्मीले बिहेको हल्लाबारे प्रश्न गरे । तर, त्यो प्रश्नको जवाफमा उनी झोक्किएर प्रस्तुत भइन् ।
आफूलाई यस्तो प्रश्न नगर्न भन्दै उनले अब आफ्नो प्राथमिकता काठमाडौं महानगरपालिका भन्दा बाहेक अरु केही नभएको बताइन् । उनले झिँझो मान्दै भनिन् ‘अब यस्तो कुरा नगरौं, यो गर्ने फुर्सद पनि छैन । मेरो प्राथमिकता काठमाडौं बनाउँने छ । यस्तो प्रश्न पनि नगरौं । ’
कालो ढाका टोपीमा कार्यक्रममा देखिएकी उपमेयर सुनितालाई आयोजकले नेवारी संस्कार अनुसारको सगुन पनि दिएको थियो । कार्यक्रममा सँगै बसेका अर्का प्रतिनिधिले नेवारी परम्परा अनुसार माटोको पालामा दिएको रक्सी सहितको सगुन सेवन गरेपनि उनले भने पाला मञ्चको अगाडि राखिदिएकी थिइन् ।








