नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न माओवादी अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा पोखरेलले केही नेताहरुले एसपीपी एमाले सरकारले अघि बढाएको अभिव्यक्ति दिएको भन्दै प्रमाणित पेश गर्न चुनौती दिएका हुन् ।
बिहिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसपीपी ओली सरकारले अघि बढाएको आरोप लगाएका थिए ।
पोखरेलले एमालेमाथि लगाइएको आक्षेपको निन्दा गर्दै एमाले सरकारले एसपीपी अघि बढाएको भेटिए जिम्मेवारी लिन तयार रहेको बताए ।
पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशिल कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै विषय तोडमोड नगर्न चेतावनी समेत दिए ।








