सञ्चारकर्मी विजय कालिकोटेले प्रतिनिधिसभाको आउँदो निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बढ्दो भ्रष्टाचार, महङ्गी, गरिबी, बेरोजगार, मुलुकको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलविरुद्ध आफूले उम्मेदवारी दिन लागेको उनले जनाएका छन् ।
‘जनताले पटक–पटक दलका नेतालाई निर्वाचनमा जिताएर पठाएका छन् । तर, ती नेताहरु आफ्नो मतदाता र भुगोलको भावनापविरित गतिविधिमा मात्रै लिप्त भएको देखियो’, उनले भने, ‘यो भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा किन स्वतन्त्र उम्मेदवाररुले चर्चा पाए ? कति ठाउँमा त जितेर राम्रो काम पनि गरिरहेका छन् । त्यसकारण अव देशमा भइरहेको राजनीतिक दलका विकृतिविरुद्ध हामी जस्ताको उम्मेदवारी हो ।’
को हुन् विजय ?
खोटाङको निर्मली डाँडा–३ मा जन्मिएका विजय भुतपूर्व खेलाडी हुन् । ३६ बर्षका विजयले जिल्ला, क्षेत्रीय हुँदै अञ्चलस्तरीय भलिबल प्रतियोगिता समेत खेलेका छन् । थुप्रै प्रतियोगितामा सहभागी उनले विभिन्न पुरस्कारहरु पनि हात पारेका छन् । अध्ययन सँगसँगै भलिबल खेलाडीका रुपमा कहलिएका उनी अन्ततः २०६६ सालमा वैदेशिक रोजगारीका लागि विदेशिने निधो गरे ।
नेपालमा राजनीतिक विकृतिका कारण भलिबल खेल क्षेत्रमा भविष्य असुरक्षित महशुष गरेका उनले विदेसिनु बाध्य बनेको बताउँछन् । भिजिट भिसामा सिंगापुर पुगेर उनले देश कसरी बन्ने रहेछ भन्ने प्रत्यक्ष देखे ।
वैदेशिक रोजगारीका सिलसिलामा सिँगापुर मात्रै होईन मलेसिया, दुबईमा पनि केहि समय उनले काम गरे । ती देशहरुमा कार्यरत हुँदा उनले नेपालीहरुले भोग्नु परेको पीँडा र त्यस देशले विकासमा फड्को मारेको प्रत्यक्ष देखे, भोगे । त्यसपछि उनी नेपाल फर्किए ।
राजनीतिप्रति दुर्गन्ध महशुष गरेका विजयले अन्ततः नेपालमा फर्किएपछि मिडिया क्षेत्र रोजे । मिडिया मार्फत देशमा भएको नराम्रा प्रवृत्तिलाई जनतासँग जोडेर केही सकारात्मक कार्य गर्न सकिन्छ भन्ने उदेश्यले उनले विभिन्न नाम चलेका मिडियाहरुमा काम गरे ।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै राजनीतिक दलहरुले जनताप्रति देखाएको गलत प्रवृत्तिले आफुलाई जनताले मत दिने विश्वास व्यक्त पनि गरे । विजयले आफुनो मुख्य योजना सुनाउँदै भने, ‘अहिलेसम्म प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग उठे पनि यसको कार्यन्वयन राम्ररी हुन सकेको छैन ।’ त्यसैले मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नुपर्ने र अचल सम्पत्ति भेटिएमा राष्ट्रियकरण गर्ने व्यवस्थ गर्नु पर्ने र त्यस्ता अचल सम्पत्तिबाट गरिब निमुखा सुकुम्बासीलाई भत्तास्वरुप वितरण गर्नुपर्ने जस्तो योजनाहरु पनि सुनाए ।
देशमा व्यवस्था परिवर्तन भएपनि जनता र देशको अवस्था भने उस्तै छ । राजनीतिक दलका दलालहरुले आफ्ना आसेपासेलाई मात्रै पोस्ने जस्ता कमिशनको खेलले गर्दा देशले भने जस्तो विकास र जनताले निकास पाउन नसकेको उनको तर्क छ ।
सुनसरी क्षेत्र नं. १ धरानबाट आफुलाई जनताले जितएमा विभिन्न खाले विकासका परियोजनाहरु प्राथमिकतामा पार्ने उनले दावी गरेका छन् । उनले धरानको हरियाली बनलाई चिडियाँ खाना र निकुञ्ज बनाउने, धरानलाई नेपालकै व्यापारिक व्यवसायिक तथा पर्यटन क्षेत्र बनाउने जस्ता योजना पनि सुनाए ।





