काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘डरपोक’ भन्दै संसद् विघटन र सरकार गठनको प्रक्रियामाथि कडा आलोचना गरेका छन् ।
शनिबार काठमाडौंमा एमालेको नेसनल भोलेन्टियर फोर्सको स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गरे ।
ओलीले वर्तमान सरकार गठनको प्रक्रिया आगजनी, तोडफोड र अलोकतान्त्रिक गतिविधिबाट सुरु भएको आरोप लगाए । लोकतान्त्रिक संस्थाहरू कमजोर बनाइएको भन्दै उनले देश अझै संवैधानिक विधिअनुसार सञ्चालन हुन नसकेको टिप्पणी गरे ।
उनले कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेको भन्दै ‘डरपोक राष्ट्रपति’को संज्ञा दिएका हुन् । अध्यक्ष ओलीले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ नभएको भन्दै न्यायालयप्रति पनि असन्तुष्टि व्यक्त गरे । मुद्दामा आफूहरूलाई हराए पनि फैसला गर्नुपर्ने भन्दै उनले अदालत मौन बसेको टिप्पणी गरे ।








