काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै आगामी संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने र प्रतियोगितामा सहभागी आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन् ।
उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको भन्दै उनले आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन् ।
प्रधानमन्त्री साहले आठवटा क्लबका लागि प्रस्तावित रंगशालाको विवरणसमेत सार्वजनिक गरेका छन् । जसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ ।
‘क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार छ’, प्रधानमन्त्री साहले लेखेका छन् । सरकारले यसअघि पनि देशभर क्रिकेट, फुटबल र अन्य खेलका पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि बढाएको थियो ।








