दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा आफ्नै परिवारका सदस्यहरूमाथि बन्चरो प्रहारको घटनामा मृतकको संख्या तीन पुगेको छ ।
आक्रमणबाट घाइते भएकी श्रीमतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बिहान घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका थिए । आक्रमणबाट घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिस्मा सलामीको उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।
गम्भीर घाइते ३५ वर्षीया मनिषा सलामी मगरलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेपछि चिकित्सकले मनिषालाई मृत घोषणा गरेका हुन् । घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको सुर्खेतमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अम्बरले शनिबार बिहान साढे ९ बजेतिर सामान्य घरायसी विवादका क्रममा परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेका थिए । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।








