काठमाडौं, ३१ साउन । यसअघि इजरायलमा घरेलु श्रमिक लैजाँदै आएको इजरायल सरकारले अब कृषि श्रमिकको रुपमा एकहजार भन्दा बढी नेपाली युवाहरु लैजाने भएको छ ।
नेपालका लागि इजरायली राजदूत हनान गोडरले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसंगको भेटमा सो कुरा बताएका हुन् ।
यसबारे राजदूत गोडरले आजकोप्रेसडटकमका सह सम्पादक बलराम प्यासीसंग टेलिफोन वार्तामा नेपाल सरकारले छिट्टै आवश्यक पहल गरेमा इजरायलले त्यो संख्यामा अझै थप्नसक्ने पनि प्रष्ट पारे ।
‘इजरायलमा जाने कृषि श्रमिकको पारिश्रमिक मासिक २ लाख रुपैयाँ हुन्छ’ राजदूत गोडरले भने । यसअघिका तीनजना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीहरुसंग भेटिसकेका राजदूत गोडरले मन्त्रीहरु समय समयमा फेरिराखिने भएतापनि स्थायी सरकारको रुपमा रहेका कर्मचारी संयन्त्रले समयमै पहल गरेमा हजारभन्दा बढी नेपाली युवाले इजरायलको कृषिमा रोजगारी पाउने र त्यहाँबाट फर्केर नेपालमा आधुनिक तरीकाबाट कृषि उद्यम गर्न सफल हुने पनि बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै युनिट बनाएर इजरायल पठाउने कृषि कामदार युवाको छनौट प्रकृया, आवश्यक तालीम लगायतका प्रकृयागत कार्य अघि बढाएमा यो वर्ष नै एकहजार भन्दा बढी युवाले इजरायल जान पाउने राजदूत गोडरले प्रष्ट पारे ।

नेपालका विभिन्न जिल्लामा गई कृषि उत्पादनबारे स्थलगत निरीक्षण गर्दै आएका राजदूत गोडरले पछिल्लो समयमा नेपालमा कृषि उत्पादनमा युवाहरुको सृकयता बढेकोमा पनि खुसी व्यक्त गरे ।
मन्त्री कुवँरसंगको भेटमा इजरायली राजदूतावासकी डि.सि.एम डाना फिसर पनि सहभागी थिइन् ।
केही दिन अघिमात्र इजरायल सरकारको पहलमा थप ८९ जना नेपाली घरेलु श्रमिकहरु इजरायल गएका थिए । उनीहरुको विदाईमा राजदूत गोडरको साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका महानिर्देशक शेष नारायण पौडेल तथा निर्देशक श्रीचन्द्र साह त्रिभुवन विमानस्थल पुगेका थिए ।







