ललितपुर, १० असोज । नेकपा मोआवादी केन्द्रले आउँदो मंसीर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको लागि समानुपातिक उम्मेदवारको नामसहितको सूचि निर्वाचन आयोगमा पठाइसकेको छ ।
केन्द्रले पठाएको सिफारिस अनुसार बागमती प्रदेश सभाको लागि ललितपुर २ (क) बाट पिएचडि विद्यार्थी (स्कलर) मानवशास्त्री रोशनी थापा सिलवालको नाम सिफारिस गरेको छ । सशक्त, जुझारु, शिक्षित, अनुभवि र महिला उम्मेदवारको रुपमा रहेकी रोशनी सो पदकोे मुख्य दावेदार रहेको स्थानीय मतदाता बताउँछन् ।
मानवशास्त्र विषयमै स्नातकोत्तर गरेकी रोशनीको नाम छनौट भएमा उनी बागमती प्रदेश सभामा ललितपुर क्षेत्र नं २ (क) बाट पहिलो महिला प्रदेशसभा सांसद हुनेछिन् । उनी महालक्ष्मी नगरपालिका ९ लामाटार, लुभुकी स्थायी वासिन्दा हुन ।
रोशनी थापाको अतिरिक्त माओवादी केन्द्रले लक्ष्मी बहादुर महर्जन, रामहरि बजगाई, कृष्णकुमार महर्जन, नेत्रकुमार पुलामी, बबिता रनपौली र काजीरत्न महर्जनको नाम सिफारिस गरेको छ ।
संयुक्त राष्ट्रसंघीय कार्यक्रम युएनडिपि तथा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) द्वारा सञ्चालित विभिन्न आयोजनामा नर्मा कन्सल्टेन्सी मार्फत कन्सल्टेण्टको रुपमा कृषि तथा वन, महिला सशक्तिकरण, गरीवि निवारण जस्ता विषयमा ११ वर्ष काम गरेकी रोशनी नेकपा माओवादी केन्द्रको सदस्य हुन् ।
उनी गत बैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट महालक्ष्मी नगरपालिकाको उपमेयरको दावेदार रहेकी थिइन् ।
माओवादी केन्द्रले ललितपुर २ नं क्षेत्रमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि भने श्यामकृष्ण मर्हजन र बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा राजनैतिक दललाई प्राप्त भएको मतको आधारमा समानुपातिक साँसद निर्वाचित हुने व्यवस्था छ ।
नेपालको संविधानमा उल्लेख भए बमोजिम निर्वाचन आयोगले समानुपातिकमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ ७ वटै प्रदेशमा गरि २२० सीट निर्धारण गरेको छ । प्रतिनिध सभाको १६५ पदमा भने प्रत्यक्ष निर्वाचन हुन्छ ।





