प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।आज बिहान ११ बजेका लागि बोलिएको बैठकबाटविनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ। यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसदको अवरोध कायम राख्ने भएको छ।
बजेट पारित नहुदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको छ। बजेट होलिडेको अवस्था हुँदा कर्मचारी, सांसद, मन्त्री, प्रधानमन्त्रीहरुको तलबका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको अवस्था रहेको छ। प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्दै छन्।
विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर सोमबारको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी रहेको छ। आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सत्तारुढ गठबन्धनका दलहरुले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेर राष्ट्रियसभामा जानेछ। राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल गरेर सुझाव पेस गर्न सांसदहरूका लागि २४ घण्टाको समय लागू गर्ने तयारी छ। सरकारले खर्च गर्न नपाउने कानुनी अड्चन हटाउन राष्ट्रियसभाबाट पनि छोटो प्रक्रिया अपनाएर विनियोजन विधेयक पारित गर्न लागिएको हो।
कुनै अवरोध नभए राष्ट्रियसभाबाट असोज ८ सम्म विनियोजन विधेयक पारित गर्ने र त्यसको सन्देश प्रतिनिधिसभामा सुनाएर सभामुखले हस्ताक्षर गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने छ।






