नेपाल–चीन सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ। लिमी लाप्चादेखि हिल्सासम्मको समस्या अध्ययन गर्न गठित समितिका संयोजक गृह मन्त्रालयका सह–सचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणलाई प्रतिबेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए। टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए।
मन्त्रिपरिषद्को १६ भदौको बैठकले लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न भनेर समिति गठन गर्न निर्णय गरेको छ। विवाद नभएको ठाउँमा समिति गठन गरेर अध्ययन गरेको भन्दै सरकारको आलोचना भएको थियो ।





