नेकपा (माओवादी केन्द्र)ले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । सदन अदालतसँग जोडिएको कानुनी जटिलता हेरे लगत्तै मन्त्रीमण्डल विस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए ।
आजको बैठकमा अध्यष प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास भैरहेको बताएका थिए ।
स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको सयमतालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ । बैठकले सदस्यता नविकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कार्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ ।





