राष्ट्रियसभाको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए । छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो ।
त्यसअघि बैठक प्रारम्भ हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले उभिएर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोही पार्टीका सांसद पर्शुराम मेघी गुरुङलाई बोल्न समय दिएका थिए । सांसद गुरुङले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकका सन्दर्भमा आपत्ति जनाए । सांसद गुरुङले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी कानूनलाई प्रभावित नहुने गरी करको दायरा मात्रै विस्तार गर्न लागिएको स्पष्ट पारेका थिए ।





