राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित दुईवटा विधेयकको प्रमाणीकरण गरेकी छन्। संघीय संसद्को दुवै सदनबाट पारित भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेकी हुन्।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गरेको थियो। प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरिएको थियो।
बजेटसँग सम्बन्धित विधेयकहरुमध्ये विनियोजन विधेयक यसअघि नै प्रमाणीकरण भइसकेको छ। बाँकी दुई विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आज राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
आर्थिक विधेयक राजस्व संकलन र राष्ट्र ऋण उठाउने विधेयक वैदेशिक परिचालनसँग सम्बन्धित रहेका छन्। बजेटको लक्ष्यअनुसार राजस्व र वैदेशिक ऋण परिचालन गर्न यी दुई विधेयक आवश्यक पर्दछ। यससँगै अब सरकारलाई चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ।





