Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

रविले रचे इतिहास, पहिलाको भन्दा धेरै मत


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा नयाँ इतिहास रचेका छन् । यसअघि गएको मंसिर ४ को निर्वाचनमा उनले प्राप्त गरेको मत भन्दा धेरै मत ल्याएर ल्याएर इतिहास रचेका हुन् । लामिछाने चितवन २ को उपनिर्वाचनमा ५४ हजार १७६ मत सहित विजयी भए । यसअघि गएको मंसिर ४ को निर्वाचनमा आफैंले प्राप्त गरेको मत रेकर्डलाई उनले ब्रेक गरेका हुन् । मंसिर ४ को निर्वाचनमा उनले ४९ हजार ३ सय मत पाएका थिए । मंसिरको निर्वाचनमा पाए भन्दा ४ हजार ८७६ मत बढी ल्याएर उनले आफ्नै रेकर्ड ब्रेक गरे ।

टेलिभिजनकर्ममा रहँदा सबैभन्दा लामो समय टेलिभिजन टक सो सञ्चालन गरेर विश्वकिर्तिमान कायम गरेका लामिछानेले चितवनको संसदीय चुनावमा नयाँ रकेर्ड कायम गरेपछि उनको चौतर्फि चर्चा भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले समेत रवि लामिछानेको जितका विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेका छन् । कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनको जितलाई टेलिभिजनबाट उदाएको नेपालको प्रभावशाली नयाँ नेता भनी लेखेका छन् ।

लामिछानेले चितवन २ को निर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेर विजयी हुँदै गर्दा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत मात्रै पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । पछिल्ला केही वर्षयताको निर्वाचनमा सबैभन्दा धेरै मत अन्तर ल्याएर विजय हासिल गर्ने नेता नै रवि लामिछाने बनेका छन् । चितवन २ को निर्वाचनमा एमालेका तर्फबाट उम्मेदार बनेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि गएको मंसिर ४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । यसपटकको उपनिर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले गत मंसिर ४ मा आफूहरुले प्राप्त गरेको मत पनि जोगाउँन सकेनन् । अघिल्लो पटक कांग्रेसका उम्मेदवारले ल्याएको १४ हजार ६५२ मतबाट घटेर यसपटक कांग्रेस उम्मेदवारको मत ११ हजार २५१ म पुगेको छ । यस्तै एमाले उम्मेदवारको मत पनि गत मंसिरको मत भन्दा निकै धेरै घटेको छ । अघिल्लोपटक एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएकोमा यसपटक एमालेको मत घटेर १० हजार ९३५ मा आइपुगेको छ ।

यसपटकको चितवनको चुनावी मैदानमा सहभागी भइरहँदा रवि लामिछानेले अघिल्लो पटकको भन्दा धेरै मत ल्याउने दाबी गरेका थिए । तर, उनको यो दाबीलाई कांग्रेस एमाले लगायतका दलले हावादारीको संज्ञा दिएका थिए । मंसिरको निर्वाचनमा लामिछानेमाथि निराशाको मत पोखिएको बताउँदै उनीहरुले यसपटक त्यही रुपमा मत नपर्ने बताएका थिए । लामिछानेलाई खहरे खोलाको संज्ञा दिँदै रास्वपा विरोधीहरुले मंसिरमा देखिएको अनौठो खहरे वैशाखमा सुक्ने दलिल गरेका थिए । तर, उनीहरुको दलिल पूरा भएन । बरु लामिछानेले अघिल्लोपटकको भन्दा धेरै मत ल्याएर आफूलाई अब्बल सावित गरिदिए ।

मंसिर ४ को निर्वाचनमा देशभरीकै सबैभन्दा धेरै मत ल्याएर विजयी भएका लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलासँगै उनको सांसद पद गुमेको थियो । त्यसपछि रिक्त रहेको चितवन २ मा वैशाख १० मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा रवि लामिछानेको रास्वपा एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएको थियो भने कांग्रेस सहितका गठबन्धनले उनलाई चुनौती दिएका थिए । तर, गठबन्धनको चुनौतीलाई लामिछानेले सहजै सामना मात्रै गरेनन् दुनियाँलाई चकित पार्नेगरी मत ल्याए ।

यसबीचमा रवि लामिछानेका विषयमा विभिन्न समाचारहरु पनि सार्वजनिक भए । राहदानी विवाददेखि लिएर गृहमन्त्री भएका बेला लामिछानेले राष्ट्रिय परिचयपत्र रुजु प्रकरणमा दिएको ठेक्का नियम विपरित भन्दै समाचार सार्वजनिक भयो । मन्त्रीपरिषदको बैठकले त लामिछानेको समयमा लगाइएको ठेक्का नै खारेज गरिदियो । तर, ती केहीले पनि रवि लामिछानेको संसद यात्रालाई फेरि रोक्न सकेन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार