नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व युवरााज्ञी हिमानी शाहका नामबाट गरिएको फेक टुइटका पछि लाग्दा नराम्रोसँग चिप्लिएका छन् । फेक टुइटलाई आधिकारिक ठानेर उनले बिहिबार पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाह सम्मलाई चेतावनी दिन भ्याए । उनले त्यही टुइटलाई आधार मानेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई त छोरा बुहारी अघि सारेर धेरै फुरफुर नगर्न चेतावनी नै दिए ।
बुधबार हिमानी शाह नाम गरिएको फेक टुइटर ह्याण्डलबाट एमाले अध्यक्ष केपी शर्मा ओलीका विषयमा एउटा टुइट गरिएको थियो । हिमानी शाहको फेक टुइटर ह्याण्डल बनाएर कसैले लेखेको थियो : झापामा केपी ओलीको गाडीमाथि ढुंगामुढा गर्दै जनताले कालो झण्डा देखाएका छन् ।
त्यही टुइटलाई आधार मानेर बिहिबार ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चेतावनी दिए । बिहिबार एमाले उपाध्यक्ष सुवास नेम्वाङ सहित इलाम पुगेका ओलीले पूर्वराजालाई चेतावनी दिँदै भने : ज्ञानेन्द्र शाहलाई म भन्न चाहन्छु , छोरा बुहारीलाई अघि सारेर धेरै बढ्ता फुरफुर नगर्नु । ओली यतिमा मात्र रोकिएनन् उनले भने : ज्ञानेन्द्र शाहकी बुहारी बढ्ता जान्ने भएर टुइट गरिछन् । उनले जनताले केपी ओलीलाई ढुंगा हानेको देखिछन् । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, मैले यसको जवाफ दिन नपरोस् । हामीले धेरै कुराको हिसाबकिताब नगरी छाडिदिएका छौं । हाम्रा धेरै साथीहरुलाई जेलबाट निकालेर ड्याङ ड्याङ गोली हानिएको छ । त्यतिबेला छाडेका छौं । हामीले अनेक हिसाबकिताब गरेका छैनौं । हिसाबकिताब शुरु गर्न नपरोस् । छोरा बुहारी धेरै अघि सारेर फुरफुर नगर म चेतावनी दिन चाहन्छु । अहिले ट्याट्याउ गर्दै हिँड्ने एकदुई जना मान्छे भेट्टाएको छ तीनकै भरमा कविता पढाउँन नखोज ।
ओलीले बुधबार झापामा आफूलाई ढुंगामुढा गर्ने आतंककारीहरु भएको भन्दै आतंककारीले ढुंगामुढा गर्दा हिमानी शाहले तीनलाई जनता भन्ने भन्दै उनी आक्रोशित भएका हुन् । जनताले ढुंगामुढा गरेको भन्ने शब्दले ओलीलाई धेरै बिझाएको उनको आक्रोशबाट प्रष्ट हुन्थ्यो ।
बिहिबार ओलीले फेक टुइटलाइ आधार मानेर पूर्वराजा र राजपरिवारका सदस्यमाथि चेतावनी दिएपछि अहिले यो विषयलाई लिएर सामाजिक सञ्जालमा ओलीको व्यापक आलोचना भएको छ । पटक पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति फेक टुइटका पछि लागेर पूर्व राजा र राजपरिवारका सदस्यमाथि खनिनुलाई केहीले ओलीको केटाकेटीपन भनी टिप्पणी गरेका छन् ।
बुधबार ओली झापाको एक कार्यक्रममा सहभागी हुन जाँदा कोशी नामाकरणको विपक्षमा रहेका केहीले ओली चढेको गाडीमा आक्रमण र हुलहुज्जत गरेका थिए । तर, त्यो विषयलाई लिएर पूर्व युवराज्ञी हिमानी शाहले भने कुनै टुइट गरेकी थिइनन् । उनको नामको दुरुपयोग गरी कोही कसैले टुइटरमा लेखेका थियो ः झापामा केपी ओलीको गाडीमाथि ढुंगामुढा गर्दै जनताले कालो झण्डा देखाएका छन् ।
हिमानी शाह लेखिएको त्यो फेक टुइटर ह्याण्डलमा ५०७६ फलोअर्स देखिन्छन् । त्यो टुइटर ह्याण्डलबाट सन्दिप लामिछानेदेखि पल शाह र रवि लामिछाने सम्मका विषयमा विभिन्न कुरा यसअघि पनि लेखेको देखिन्छ । रवि लामिछानेले चितवनमा भारी मतले चुनाव जितेपछि हिमानी शाहको त्यो फेक टुइटर ह्याण्डलमा उनलाई बधाई दिँदै चितवनबासीलाई धन्यवाद भनिएको छ । हिमानी शाहको भनिएको टुइटरमा फलोअर्स बढाउने अभिप्रायले कहिले के कहिले के लेखिएको प्रष्टै अनुमान गर्न सकिन्छ । तर, टुइटर आधिकारिक हो या होइन भन्नेतर्फ नगई ओली पूर्वराजा र राजपरिवारका सदस्यमाथि खनिएपछि भने यतिबेला ओलीले व्यापक आलोचना खेप्नुपरेको छ ।





