Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

‘मौज्दात नभएको चेक, पशुपतिनाथको प्रसाद जसरी बाँड्नु गैरकानूनी’—काठमाण्डौ प्रहरी प्रमुख कार्की


काठमाण्डौ, ३० बैशाख । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्रेर चर्चित बनेका काठमाण्डौ जिल्ला प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बैंकमा मौज्दात नभएको चेक काटेर दिनु गैरकानूनी भएको बताएका छन् ।

राजधानीको तिनकुनेमा शनिबार विहान आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक कार्कीले पछिल्लो समयमा बैंकमा मौज्दात नभएको चेकबारे प्रहरीमा धेरै उजुरी पर्न थालेको बताउँदै बैंकमा मौज्दात नभएको चेक पशुपतिनाथको प्रसाद जसरी बाँडेमा बैंकिङ्ग कसुर अनुसार कारवाही हुने बताए । बैंकिङ्ग कसुर अनुसार अहिले धेरैजना कारवाहीमा परेको पनि उनले उल्लेख गरे ।

चेक भनेको नगदको अर्काे माध्यम भएकोले चेकको कारोवार गर्दा ध्यान पुर्याएर लेनदेन गर्न आग्रह गर्दै उनले अहिले शैक्षिक परामर्श केन्द्रसंग सम्वन्धित र वैदेशिक रोजगारसंग सम्वन्धित आर्थिक अपराधका घटनाहरु, अभद्र व्यवहार, चोरी, पाकेटमारी र सामाजिक सञ्जालले उब्जाएका अपराधका घटना बढीरहेको बताए ।

रोजगारी या अन्य कुनै पेशा व्यवसाय नभएका फुर्सदिला मानिसहरुकै कारण अहिले समाजिक सञ्जालमा नचाहिने क्रियाकलापरु बढेको उल्लेख गर्दै उनले यसबारे समयमै सचेत रहन सबैसँग आग्रह पनि गरे ।
कोठा भाडामा माग्न आउने भन्दै घरघरमा चोरी गर्ने गिरोह सक्रृय रहेकोले राजधानीका घरधनीलाई सजग रहन उनले सचेत समेत गराए ।


प्रहरी वृत्त नयाँ बानेश्वरको आयोजना तथा सामुदायिक सेवा समिति, सामुदायिक प्रहरी र काठमाडौं महानगरको १०, ३१ र ३२ वडाको सहयोगमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक कार्कीले सर्वसाधारणको चालचलन २०८० सालको र व्यवहार सोचाई भने २०४० सालको भएको कारण समाज बौद्धिक बन्न नसकेको प्रष्ट पारे ।

उनले नागरिकको जनधनको सुरक्षाको लागि टोलटोलमा जडान गरिएका सिसिटिभिको तार महानगरपालिकाले अन्धाधुन्द रुपमा काट्दा अपराधका घटना बढेको र अपराधीहरु पत्ता लगाउन गाह्रो हुँदै गएकोले जथाभावी सिसिटिभिको तार नकाट्न महानगरपालिकालाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तव, महानगरको वडा नं १० का अध्यक्ष रामकुमार केसी, ३१ का अध्यक्ष सरोज ढकाल तथा ३२ का अध्यक्ष नवराज पराजुली लगायतले बोलेका थिए ।
कार्यक्रम सामुदायिक विकास तथा सेवा समिति वडा नं ३१ का अध्यक्ष प्रा.डा.बासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार