नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको जेठ ४ गते संसदमा गर्ने भनेको नक्कली भुटानी शरणार्थी प्रकरणको विशेष खुलासाबारे आइतबारको संसद बैठकमा बोलेका छन् । ४ गते आफू बिरामी भएका कारण संसद बैठकमा उपस्थित हुन नसकेको जानकारी दिँदै उनले आइतबारको बैठकमा यस विषयमा मात्रै करिब २१ मिनेट बोले । सरकारका नीति कार्यक्रमप्रति असहमति व्यक्त गर्दै संसदको रोष्ट्रममा उभिएर ओलीले भुटानी शरणार्थी प्रकरणबारे बोल्दा शरणार्थी विषयमा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसदेखि कांग्रेस सभापति शेरबहादुर देउवासँको विभिन्न सन्दर्भहरु जोडे । संसदमा उनले यो प्रकरणमा केन्द्रित रहेर बोलेको कुरा यस्तो थियो :
भ्रष्टाचारको विषयमा सरकार कस्सिए झैं गर्छ । हामी स्पष्ट भन्छौं, भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका कुनैपनि कालखण्डको र जो कोहीको विषयमा छानबिन गरौं । तर, यो सरकारले त्यस्तो गरिरहेको छैन । बालुवाटार, मातातिर्थ, धोबिखोल, तथाकथित ओम्नी काण्ड, क्यान्टोनमेन्ट काण्ड अनुसन्धान गरिनेछ भन्न सरकारलाई के ले रोक्यो ? जो सुकैले गरेको भ्रष्टाचार छानबिनको दायरामा ल्याउनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको ४ गते मैले संसदमा बोल्ने भनेको थिएँ । अघि एकजना माननीयज्यूले यो कुरा सम्झाउनु पनि भयो । तर, म ४ गते बिरामी भएँ । संसदमै बिरामीको कारणले आउन सक्ने स्थिती भएन । आजको कुरामा तत् सम्बन्धमा बोल्दा अलि समय लाग्छ त्यसैले म डिटेलमा जान सक्दिनँ । म त्यो जिल्लाको मान्छे हुँ जहाँबाट भुटानी शरणार्थीहरुको समस्या शुरु भयो । ८९÷९० मा भुटानले नेपाली मुलका नेपाली भाषीलाई भुटानबाट खेदेपछि उनीहरु नेपालमा आएर विभिन्न खोला किनारामा बसे । हजारौंको संख्यामा आएका ती भुटानीलाई केही स्थानीयले सहयोग पनि गरे । पछि यो विषयमा सरकारदेखि अन्तर्राष्ट्रिय समुदायसम्मको ध्यानाकर्षण गराइयो । र, केही क्याम्पको व्यवस्था गरेर राखियो ।
। भुटानबाट शरणार्थीहरु नेपालमा आएपछि त्यसको समाधानका लागि हामीले पटक पटक प्रयास ग¥यौं । भुटानसँग हामीले वार्ता प्रारम्भ ग¥यौं । तर, भुटानले शरणार्थीहरुलाई जतिगरे पनि आफ्नो देशमा फिर्ता लिन चाहेन ।
त्यसबेला मेरा पुराना मित्र माननीय शेरबहादुर देउवाजी गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले फष्टदेखि फोर्थ राउण्डसम्मको वार्ता गर्नुभयो । तर, केही भएन । २०५१ को निर्वाचन सम्पन्न भएपछि म गृहमन्त्री भएँ । पाँचौं र छैटौं वार्ता २०५१ मा म गृहमन्त्री भएपछि काठमाडौं र थिम्पुमा गरेँ । तर, मैले के बुझेँ भने जति गरेपनि भुटानले शरणार्थी फिर्ता लिन चाहँदैन । त्यसपछि भुटानी शरणार्थीको विषयमा सातौं देखि १५ राउण्डसम्मका वार्ता भए । त्यसमा के के भए मलाई जानकारी भएन । सन् २००६ मा म उपप्रधान र परर्राष्ट्रमन्त्री भएँ । १६ औं राउण्डको वार्ताका लागि भुटानले प्रस्ताव ग¥यो । मैले बुझेँ भुटान अल्मल्याउन मात्रै चाहन्थ्यो । अन्तर्राष्ट्रिय समुदायलाई वार्ता भइरहेको मात्रै देखाउँन चाहन्थ्यो ।
बंगलादेशको ढाकामा पनि अनौपचारिक वार्ता भयो । र, त्यसपछि हवानामा असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा पनि कुरा भयो । यो विषयमा संयुक्त राष्ट्रसंघको ६१ औं महासभामा न्युयोर्कमा कुरा भयो । मैले संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठाएँ । जर्ज डब्लु बुसको रिसेप्सनसमा मेरो भेट भयो र मैले शरणार्थीको मामलामा सहयोग मागेँ । तपाईँहरु डिभी राखेर पनि ल्याउँदै हुनुहुन्छ भने ल्याइदिनुस् भनेँ । बुसले विदेशमन्त्रीसँग कुरा गर्न भन्नुभयो । वासिङटन डिसीमा अमेरीकी विदेशमन्त्रीसँग कुरा भयो । र, निष्कर्षमा उहाँले पहिलो लटमा ६० हजार शरणार्थीको व्यवस्थापन गर्ने भन्नुभयो । उहाँहरुबाट त्यो सहयोग हुने भएपछि मैले त्यहाँका विदेशमन्त्रीदेखि राष्ट्रपति जर्ज बुस सम्मलाई धन्यवाद भनेँ । मैले वास्तविक शरणार्थीको सेटलमेन्टका लागि चालेको कदमलाई अहिले केही सञ्चारमाध्यम र व्यक्तिले ओलीले शुरु गरेको रहेछ किन नसमाउँने भनेको सुनेँ । मान्छेहरुको बुद्धिको भाँडो देख्दा अचम्म लाग्छ ।
शरणार्थीहरु २००८ बाट थर्ड कन्ट्रीमा जान थाले र १२ सम्म गए । अन्तिममा एक लाख पुगेको दिन होटल सांग्रिलामा अन्तर्राष्ट्रिय समुदायले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा मलाई सोधियो । र, केही हजार मान्छेको व्यवस्थापन कसरी भनेर उहाँहरुले सोध्नुभयो । मैले प्रष्टरुपमा तीन वटा प्रस्ताव राखेँ । मैले भनेँ, पहिलो कुरा बाँकी रहेका शरणार्थी आफ्नो देश फर्कन पाउनुपर्छ त्यसका लागि तपाईँहरुले दबाब दिनुपर्छ । दोस्रो नमान्दा तपाईँहरुले लानुपर्छ । तेस्रो केही व्यक्तिहरु बाँकी रहे भने त्यसलाई नेपालले हेर्नुपर्ने हुन्छ भनेँ । त्यसपछि यो सिलसिला एकढंगले टुंगिएपछि २०१२ मा फेरि सेकेण्ड जोइन भेरिफिकेसन भनेर अघि बढ्यो । त्यो के हो भनेर सरकारले खोजबिन गर्नुप¥यो । अहिले गृहमन्त्री जुँगामा ताउ लगाउँदै हुनुहुन्छ, मैले यसो गरेँ त्यसो गरेँ भनेर । अघिल्लो वर्ष जेठ १९ कि ३० मा नै नक्कली भुटानी शरणार्थीको उजुरी परेको रहेछ । त्यसपछि केही गिरफ्तार पनि भएछन् । तर, तीनिहरुलाई गुपचुप छाडियो । सरकारले भनोस् तीनिहरुलाई किन गुपचुप छाडियो ? ९७५ सँग फारम भरेर पैसा मागिएछ । यो दबाउन सकिने केस थिएन । यो प्रकरण विष्फोट भयो, एक हिसाबले भन्ने हो भने यसमा आफैं भुँइचालो आयो ।
भुटानी शरणार्थी मध्ये १, १३, ३०७ जना थर्ड कन्ट्री गइसकेका थिए । ६७५५ बाँकी थिए । त्यसमा ४२९ को कार्ड बनिसकेको थियो । यो पछिल्लोपटक एउटा समिति बनेछ । मेरो पालामा त्यस्तो उस्तो केही बनेको छैन । मलाई त पिङ खेलाको खेलाई हुनुहुन्थ्यो । मेरो सरकार ढाल्न अनेकन आरोपहरु, मुद्धै मुद्धाहरु थिए । मैले त केही कागज हेर्नै पाएको थिइनँ । त्यस्तो स्थितीमा हामीले केही गरेनौं ।
४२९ जना ओरिजिनल भुटानी शरणार्थी नै थिए । माथिको कागज उही राखियो र व्यक्तिको सूची चाहिँ परिवर्तन गरियो । त्यो कसले परिवर्तन ग¥यो खोज्नु पर्दैन ? म चुनौतीका साथ भन्न चाहन्छु ः म गृह, परराष्ट्र र प्रधानमन्त्री भएँ । छानबीन होस् । अहिले निर्दोष फसाउने र दोषी उम्काउने प्रयास भएको छ त्यस्तो नहोस् ।
कुनै पनि दोषी नउम्कियोस् । म भन्न चाहन्छु, मेरो पार्टीका तर्फबाट नेकपा एमाले तीन दलको बैठकमा सहभागी हुँदा एमालेले आफ्ना मान्छे छोडाउँन म्याउँ म्याउँ ग¥यो भनियो । आफ्ना मान्छे छुटाउन बैठक बसेको भनियो, बैठकले सन्देह पैदा भयो भनियो । तर बैठक त्यसका लागि बसेका होइनन् । कानुन निर्माण गर्नुछ, देश चलाउँनु छ अनि त्यस विषयमा छलफल गर्दा बसेका बैठकलाई अरु नै भन्ने ?
केपी ओलीले अर्थोक गर्ला । तर, याद गरे हुन्छ बाघ भोकै मर्छ घाँस खाँदैन, म्याउँ म्याउँ गर्दैन । फेरि म एकपटक दोहो¥याउन चाहन्छु, तथ्य प्रमाण सहित भन्दैछु : दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास हुँदैछ यसलाई बन्द गरियोस् । जेठ १९ कि ३० मा पक्राउ परेका मान्छे किन छाडियो ? ढाकछोप नगरियोस् । अरु सबै भ्रष्टाचारका बारेमा के के छानबिन गर्नुहुन्छ ? नेकपा एमाले सत प्रतिशत छानबिनमा साथ दिन्छ । र, अहिले बयानका सन्दर्भहरु कसरी अघि बढ्दैछन् हामी पनि हेर्दैछौं । हामीले पनि राजनीति गरेको धेरै वर्ष भयो । जेलमा बस्दाका सरकारमा बस्दाका सबै राजनीति देखेका छौं । यो गल्ती गर्नेतिर सरकार नजाओस् । यसमा यत्ति नै भन्छु अहिले ।





