काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाएका छन् । शुक्रबार पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै सभापति थापाले अराजकता रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिए ।
उनले भने, ‘प्रत्येक दिन सुनिन्छ, सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, कहिले मन्त्रीले उत्तेजना दिने खालका अभिव्यक्ति दिएका छन्। मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ। जब प्रचण्ड बहुमत प्राप्त हुन्छ, तब बहुमतको अहंकारले कहाँ लैजाँदो रहेछ भने शासकीय अराजकतर्फ लैजाँदो रहेछ। म अहिले शासकीय अराजकता देखिरहेको छु।’
प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यशैलीले गलत सन्देश गएको उनको भनाइ थियो। सरकारको शासकीय अराजकतालाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाई छ । सरकारको संविधानप्रतिको दृष्टिकोणप्रति पनि उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘सरकारले संविधान चलाउन चाहेको छ, चलाउनैपर्छ। तर सरकारको संविधानप्रतिको बुझाइले यो देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ। हामीले देशलाई द्वन्द्वमा जान दिनु हुँदैन। मैले रास्वपाका साथीहरूलाई पनि भनेको छु, यो भाँडाकुटी खेलेको जस्तो होइन, केही ’ब्रो’हरू जम्मा गरेर हल्ला गरेको जस्तो होइन। यस्तो विषयलाई हल्का ढंगले लिन हुँदैन।’
आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत भएको उनकोृ भनाई थियो । अदालतसमक्ष विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टी गर्न आफूहरू तयार रहेको उनले बताए ।





