Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

पूर्व राजाका गतिविधि बन्द गराउन नपरोस्ः झलनाथ खनाल


पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशका विभिन्न स्थानमा सञ्चालित पूर्वराजा ज्ञानेन्द्र शाहका कार्यक्रम बन्द गरिदिने चेतावनी दिएका छन् । नागरिक अभिनन्दन र अन्य कार्यक्रमका नाममा ज्ञानेन्द्र शाहले भाँडभैलो मच्चाउन थालेको भन्दै उनले त्यस्ता कार्यक्रम बन्द गरिदिने चेतावनी दिएका हुन् । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारभित्र पसेर फेरि मुकुट लाउने सपना नदेख्न चेतावनी समेत दिए । आफू सहभागी एक कार्यक्रममा मंगलबार पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरुले गुण्डागर्दी शैलीमा आक्रमणको प्रयास गरेको भन्दै उनले सुण्डले मुण्डले परिचालित गरेर ताण्डब नदेखाउँन पूर्व राजालाई चेतावनी दिए ।

दुई दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा आफूलाई राजावादी बताउँनेहरुको एक समुहले खनालविरुद्ध हुल हुज्जत गरेपछि त्यसको जवाफ दिन आयोजित पत्रकार सम्मेलनमा खनालले पूर्व राजालाई राजनीति गर्ने मन भए दल खोलेर या राजसंस्था भन्दै आएको राप्रपामा प्रवेश गरेर मैदानमा आउन चुनौती दिए । पञ्चायतकालमा लोकतन्त्रका लागि लड्नेहरुमाथि आक्रमण गर्ने मण्डलेहरु ब्युँताउन कोसिस भएको र त्यसमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता देखिएको भन्दै उनले आफू विरुद्ध सुनियोजित रुपमा आक्रमणको प्रयास भइरहेको बताए । राजनीतिक दल खोलेर आए प्रतिष्पर्धा गर्न तयार रहेको तर गुण्डागर्दी र अराजकता भने आफूहरुलाई स्विकार्य नभएको उनको भनाई थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफूहरुले सम्मानपूर्वक देशमा बस्ने वातावरण यसअघि सिर्जना गरिदिएको भन्दै खनालले धेरै मात्तिए हविगत नराम्रो बनाइदिने बताए । गएको मंगलबार मात्रै पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहभागी कार्यक्रममा सन्तोष राजावादी नामले चिनिदै आएका एक युवाले खनाललाई ७० करोड रुपैंयाँमा खोलेको सर्प फार्मको हिसाबकिताब माग्दै सर्प चोरको संज्ञा दिएका थिए । खनाल जस्तै नेताहरुका कारण देश बर्बाद भएको आरोप लगाउँदै उनले जनताले भ्रष्ट नेताहरुलाई नछाड्ने चेतावनी दिएका थिए । कार्यक्रममा हुल हुज्जत बढ्दै गएपछि प्रहरीले सन्तोष राजावादी सहितका ९ युवालाई पक्राउ गरेको थियो । तर, उनीहरु त्यसको भोलिपल्ट नै छुटेका थिए । प्रहरी हिरासतबाट छुटेपछि उनीहरुले खनालले आफूहरुलाई गुण्डा भनेको भन्दै त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका थिए । हिरासतबाट छुटेपछि पनि राजावादीहरुको समूहले आफूमाथि अपशब्द प्रयोग गरिरहेको भन्दै पूर्व प्रधानमन्त्री खनाल पत्रकार सम्मेलन मार्फत नै प्रस्तुत भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार