नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले शरणार्थी मामलामा टोपबहादुर रायमाझीले आफूलाई प्रचण्ड निवास सम्म पु¥याएको बयान दिएका छन् । रिजालले अदालतमा दिएको बयानमा टोपबहादुर रायमाझी यो प्रकरणको मुख्य योजनाकार रहेको बताउँदै सानु भण्डारी र केशव दुलाल हुँदै आफू टोपबहादुर रायमाझी र प्रचण्ड निवास सम्म पुगेको बताएका हुन् । सानु भण्डारी र केशव दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताउँदै उनले त्यसपछि उनीहरुलाई आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पु¥याएको बयान दिएका छन् । रायमाझीसँग बसेर कुराकानी गर्दा कुराकानी क्लियर नभएपछि टोपबहादुर रायमाझीले आफूलाई यो विषयमा कुरा गर्न प्रचण्ड निवासमा लगेको तर, सो दिन प्रचण्डले आफू एकदमै व्यस्त रहेको बताउँदै टोपबहादुर रायमाझीसँगै सबै कुरा गर्न प्रचण्डले भनेको बताएका छन् । त्यो दिनको भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएको उनको भनाई छ । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नु भयो ।
त्यो भेटपछि शरणार्थी मामलामा के के काम भयो भन्ने विषयमा भने रिजालले थप खुलाएका छैनन् । प्रचण्ड व्यस्त छु भनेर हिँडेपछि प्रचण्डसँग पछि कुराकानी भयो या भएन भन्नेबारे पनि उनले उल्लेख गरेका छैनन् । रायमाझीलाई भेटेपछि र त्यसपछिका दिनहरुमा आफूहरु उनीहरुले भने जस्तै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजालको यो बयानले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । शरणार्थी प्रकरणको लहरो कहाँदेखि कहाँसम्म रहेछ भन्ने कुरा अनुमान लगाउँनै कठिन बनेको छ । एकपछि अर्को गर्दै हाइ प्रोफाइलका नेताहरुको नाम पोलिन थालेपछि यो प्रकरण अब के हुन्छ भन्ने अन्यौलता पनि सिर्जना भएको छ ।
यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा माआवादी केन्द्रकै नेताहरु परे पनि नछाड्ने बताएका छन् । स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताएका हुन् । उनले भने ‘सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ ।
कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका उपप्रधानमन्त्री श्रेष्ठले आफू नियम भन्दा बाहिर गएर काम नगर्ने बताए । उनले कोही कसैको सरुवा बढुवा या अरु केहीका लागि अब यसो गर्दिन्छु त्यसो गर्दिन्छु भनेर नागरिक झुक्याउँने जो कोहीलाई जेल हालिदिने चेतावनी दिए । आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने पनि दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यको अनुसन्धान खेर नजाने बताउँदै उनले सकारात्मक निर्णय हुनेमा आशावादी रहन सबैलाई आग्रह गरे । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने ‘हामी आशा गर्छौैं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन । राज्यका अरु अंगहरुले पनि सकारात्मक निर्णय गर्नेछ भन्ने आशा गर्नैपर्छ । हामीले एक दुई वटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौं, अब हाम्रो कामको गति निकै अघि बढिसक्यो । ’





