Logo
२१ श्रावण २०८३, बिहीबार
|  Thu Aug 6 2026

संसदमा तमासा : भारतका १५ राँगामा अड्कियो संसद


प्रतिनिधिसभाको सोमबारको बैठकमा अनेक प्रकारका तमासा देखिए । सोमबारको प्रतिनिधिसभा बैठक हेरेर कतिपले लज्जाबोध गरे भने कतिपयले निःशुल्क मनोरञ्जन लिए । बैठकको लामो समय भारतले दिने भनेको मुर्रा जातका १५ वटा राँगाको सन्दर्भले खाइदियो । भारतीय मुर्रा राँगाको प्रसंगले संसदमा सत्तारुढ र विपक्षी दलका सांसदहरुको दोहोरी यसरी चल्यो कि सभामुखलाई त्यो दोहोरी रोक्न हम्मे हम्मे नै प¥यो । भारतले दिने भनेका १५ वटा मुर्रा राँगामा संसद अड्किएको अड्कियै भयो ।

शुरुमा प्रधानमन्त्रीले नै मुर्रा राँगाको सन्दर्भ निकाले । सात वर्षअघि भारतसँग माग भएको मुर्रा राँगा नेपाल भित्रयाउँने सहमति भएपछि कतिपयले आफूलाई भैंसीमा चढाएको फोटो भाइरल बनाएको भन्दै हाँसो ठट्टा गरे । त्यही ठट्टामा टेकेर रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई भैंसी चढेर नेपाल आएको बताए । त्यसपछि शुरु भयो संसदमा हंगामा । रास्वपा सांसदले प्रधानमन्त्री भंैसी चढेर आएको सुन्नुपरेको भन्ने बित्तिकै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । सत्ता र प्रतिपक्षका सांसदहरुको व्यापक हो हल्ला शुरु भयो । पाखुरा सुर्कासुर्की गरेर सांसदहरु प्रस्तुत भए । हान्ने राँगाहरुलाई नै बिर्साउनेगरी संसदमा सांसदहरु उत्रिने पो हुन् कि भन्न आशंका बढेर गयो । टेबुल ठोकाठोक भयो । एकले अर्कालाई चोर औंला देखाउँदै चेतावनी दिए । टोले ग्याङहरुलाई नै माथ खुवाउने गरी सांसदहरुको प्रस्तुतीले तिब्रता पायो । एकले अर्कालाई दादागिरी नदेखाउँन भन्दै चेतावनी दिए ।

रास्वपा सांसदले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादीका सांसदहरु ज¥याक् जुरुक् उठे । असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरे । तर, विपक्षी दलका सांसदहरु त्यसलाई असंसदीय शब्द मान्न तयार भएनन् । यद्दि त्यो शब्द असंसदीय हो भने प्रधानमन्त्रीले नै असंसदीय शब्दको सुरुवात गरेको भन्दै प्रधानमन्त्रीको रेकर्ड पनि संसदबाट हटाउन माग गरे । सत्ता पक्ष र प्रतिपक्षको यो दोहोरी झण्डै एक घण्टा चल्यो ।

बल्लतल्ल यो लफडा थामथुम भयो । त्यसपछि फेरि शुरु भयो अर्को लफडा । भारत भ्रमणबारे संसदमा उठेका प्रश्नको जवाफ दिन रोष्ट्रम गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको रमिता हेर्दै करिब आधा घण्टा रोष्ट्रममा उभिन बाध्य भए । सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्रीले बोल्न शुरु गर्दा नगर्दै प्रमुख प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीमाथि खनिए । प्रधानमन्त्रीले बोल्दा बोल्दै विपक्षी दलका सांसदले होहल्ला शुरु गरेपछि सभामुखले प्रधानमन्त्रीलाई रोकेर विपक्षी दलका सांसदलाई बोल्न समय दिए । सामान्यतया ः संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले बोल्दाबोल्दै बीचैमा रोकेर प्रतिबाद गर्नुलाई राम्रो मानिन्नँ । तर, प्रधानमन्त्रीलाई बीचैमा रोकेर बोल्न शुरु गरेका सांसदलाई सभामुखले बोल्न समय दिए । प्रधानमन्त्री ठिंग उभिएर उनका कुरा सुनिरहे । त्यसपछि फेरि प्रमुख प्रतिपक्षी दलकै अर्का सांसदलाई बोल्न सभामुखले समय दिए । प्रधानमन्त्री हेरेको हे¥यै भए ।

संसदको कमाण्ड समालेका सभामुखले अब त कन्ट्रोल गर्लान् भन्ने धेरैको अपेक्षा थियो । तर, सभामुखले प्रधानमन्त्रीलाई रोष्ट्रममै उभ्याइराखेर फेरि अर्का सांसदलाई बोल्न समय दिए । संसदमा होहल्ला चलिरहयो । रोष्ट्रमबाट रमिता हेरिरहन प्रधानमन्त्री बाध्य भए । सभामुखले फेरि प्रधानमन्त्रीलाई होइन अर्का सांसदलाई बोल्न समय दिए । प्रधानमन्त्री रोष्ट्रममा निरिह बनेर बस्नुको विकल्प रहेन । अब त बोल्न पाइएला भनेर प्रधानमन्त्रीले आँ गर्ने बित्तिकै अर्का सांसद जुरुक्क उठिहाले । प्रधानमन्त्रीलाई फेरि उभ्याएर सभामुखले ती अर्का सांसदलाई बोल्न समय दिए । यो रित आधा घण्टा सम्म चल्यो । त्यो बीचमा संसदको कमाण्ड सम्हालेका सभामुखतिर प्रधानमन्त्री पालाकपिलिक् गरिरहे । तैपनि सभामुखले सांसदहरुलाई बसाउन सकेनन् । अन्तिममा कांग्रेसका एक सांसदले संसद नियमावली देखाउँदै बोलेपछि सायद अरु सांसदहरुको चित्त बुझ्यो होला । त्यसपछि बल्ल सांसदहरुको होहल्ला रोकियो । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई अघि बढ्ने अनुमति दिए ।

संसदको रोष्ट्रममा प्रधानमन्त्रीलाई उभ्याएर करिब आधा घण्टा जसरी सभामुखले जो जो सांसद उठ्छन तीनै तीनैलाई बोल्न दिए यसले सभामुखको आलोचना भएको छ । सभामुखले संसद राम्रोसँग चलाउन नसकेको भन्दै संसदीय मामलाका जानकारहरुले सभामुखको आलोचना गरेका छन् । सभामुखको नियतमाथि नै कतिपयले प्रश्न पनि उठाएका छन् । प्रधानमन्त्रीलाई संसदको रोष्ट्रममा उभ्याएर जे जे भयो त्यो अनि भारतले दिने भनेका १५ वटा राँगाको सन्दर्भमा जसरी संसदको महत्वपूर्ण समय व्यतित भयो यसले भने धेरै प्रश्नको बिस्कुन हालिदिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार