Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

ग्वार्को ओभरपासको डिजाइन सच्याएर बुझायो ठेकेदारले


ग्वार्को ओभरपासको सच्याइएको डिजाइन ठेकेदार कम्पनीले सडक विभागको गुणस्तर अनुसन्धान केन्द्रलाई बुझाएको छ।

कम्पनीले साउन ५ गते केन्द्रलाई डिजाइन बुझाएको केन्द्रका सिनियर डिभिजन इन्जिनियर ९सिडिई० राकेश महर्जनले बताए।

उक्त डिजाइन स्वीकृतिको प्रकृयामा रहेको पनि उनले जानकारी दिए।

अब हामी यो डिजाइन सडक विभागमा पठाउँछौं। विभागले नै स्वीकृत गर्छ, उनले भने।

यसअघिको डिजाइनमा त्रुटि भएपछि ओभरपास निर्माणको मुख्य काम रोकिएको थियो।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ठेकेदारलाई ओभरहेड ब्रिज राख्न स्लोप (भिरालो ) पारेर उचाई बनाउने ठाउँमा पुर्ने माटोले सम्पूर्ण भार धान्छ की धान्दैन भनेर सोधेको प्रश्नमा ठेकेदारले स्पष्ट जवाफ नदिएपछि मुख्य काम रोकिएको बताएको थियो।

ओभरहेड ब्रिज राख्नका लागि १० मिटर उचाई बनाएर स्लोप राखिन्छ।

सोही स्लोपबाट गाडीहरू गुडेर ब्रिजसम्म जान्छन्। गाडी गुड्दा स्लोपको ग्राउन्डले कतिसम्म भार कसरी धान्छ भन्ने स्पष्ट जवाफ केन्द्रले मागेको थियो।

त्यस्तै, डिजाइनमा सामान्य हेरफेर पनि गर्नुपर्ने भएका कारण मुख्य निर्माण सुरू गर्न ढिलाई भएको हो। अब डिजाइन स्वीकृत भएपछि आयोजनाले गति लिने केन्द्रले जनाएको छ।

सुरूको सैद्धान्तिक डिजाइनअनुसार निर्माण सुरू गर्दा व्यवहारिक कठिनाई देखिएको थियो। आयोजना निर्माणस्थलको माटो कमजोर भएका कारण पिलरको फाउन्डेसन जमिनमुनी ३४ मिटर गाड्नु पर्ने थियो। ३४ मिटर तल गाड्नलाई जमिनमुनी केसिङ (ढलान गर्दा राख्ने फर्मा जस्तो) राख्नुपर्छ।

यस्तो केसिङ राख्नका लागि आवश्यक उपकरण नेपालदेखि भारतसम्म पनि नपाइएकाले ठेकेदारले डिजाइन रिभ्यु गर्न आग्रह गरेको थियो।

अहिले गहिराइलाई आवश्यकताअनुसार घटाउने हिसाबले डिजाइन तयार गरिएको हो।

यो आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको ठेक्का हो। इपिसी मोडल भनेको ठेकेदार आफैंले डिजाइन गर्ने र उसैले निर्माण गर्ने हो।

निर्माण सकिएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ। इपिसी मोडल भएका कारण विविध कारण लागत बढे पनि यसमा ठेकेदार नै जिम्मेवार हुनेछ।

उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको हो। निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ।


प्रतिक्रिया दिनुहोस !
विचार