बिहिबार पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मा पछिल्ला दिनमा संसदमा चर्को स्वरले बोल्ने मध्येका एक सांसद हुन् । १०० केजी सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका कांग्रेस सांसद सुनिल शर्मा आफूले चाहिँ शैक्षिक प्रमाणपत्र नै किर्ते गरेको प्रहरीको आंशका छ । त्यही आरोपमा सिआइबीको टोलीले उनलाई पक्राउ गरेको हो ।
मेडिकल व्यवसायी शर्मा हस्पिटल चलाउँदा चलाउँदै राजनीतिमा प्रवेश गरेका थिए । बिराटनगरमा नोबेल मेडिकल कलेज र काठमाडौंमा काठमाडौं मेडिकल कलेज चलाउँदै आएका शर्मालाई पैसाको बलमा राजनीतिमा प्रवेश गरेको नेताका रुपमा पनि लिइँदै आएको थियो । तर, पछिल्लो समय संसदमा उनको प्रस्तुती दमदार नै रहेको भन्दै केहीले उनको प्रशंसा पनि गरेका थिए ।
विशेषगरी सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताको प्रश्न उठाउँदै उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए । आफ्नै पार्टीका अर्थमन्त्रीकै राजीनामा मागेपछि उनलाई कांग्रेस इत्तरका मान्छेहरुले वाहवाही गरेका थिए भने विपक्षीहरुले पनि सुनिल शर्माकै भनाई उदृत गर्दै अर्थमन्त्रीले किन राजीनामा नदिने भन्दै प्रश्न गर्ने गरेका थिए ।
प्रश्नहरु विभिन्न कोणबाट आइरहँदा अहिले उनी आफै शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा पक्राउ परेपछि भने उनको चर्को बोलीको अर्थ त अर्कै पो रहेछ भनेर केहीले भन्न थालेका छन् । राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेका सांसद शर्मा सँगै अन्य ३ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । गएको मंसिर ४ को निर्वाचनमा सुनिल शर्मा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
सांसद शर्मा २०७३ सालमा पनि सिआइबीको अनुसन्धानको दायरमा तानिएका थिए । अर्थमन्त्री प्रकाशशरण महत र शर्माबीच पछिल्ला दिनमा सम्बन्ध राम्रो थिएन । सभापति शेरबहादुर देउवा निकट रहेका अर्थमन्त्री प्रकाशशरण महतले अरु पार्टीका व्यक्तिले नभई आफ्नै पार्टीका सांसदले राजीनामा मागेको भन्दै उनी शर्मासँग रुष्ट थिए । शर्माका कमजोरीबारे थाहा पाएका अर्थमन्त्री महतले आफ्नो राजीनामाको विषयलाई इगो बनाएको रुपमा कांग्रेसभित्रैका केही नेताले लिएका थिए । सांसद शर्मालाई २०७३ सालमा सिआइबीको टोलीले अनुसन्धान गरेको र उनी त्यतिबेला उम्किन सफल भएको भन्दै अब धेरै फुरफुर गर्नेलाई छाड्न हुँदैन भन्ने कुरामा अर्थमन्त्री नजिकका व्यक्तिहरुले अर्थमन्त्रीलाई उक्साउने गरेको केहीको भनाई छ ।
त्यसो त अर्थमन्त्रीको मात्रै नभई गृहमन्त्रीमाथि नै सुन तस्करी जस्तो गम्भिर विषयमा सांसद शर्माले आरोप लगाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चिढिएका थिए । त्यसैको रिस अहिले फेरेको रुपमा केहीले लिएका छन् । कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले त शर्मामाथि केहीदिन अघि नै अराजक र अनुशासनहिन नेता भन्दै आक्रोश व्यक्त गरेका थिए । सांसद शर्माले सञ्चालन गरिरहेको अस्पतालले बीमा रकम नपाएपछि शर्माले अनेक आरोप लगाइरहेको उनको प्रतिक्रिया थियो । महतले कांग्रेस केन्द्रीय कार्यालयमा साउन १० गते आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘उहाँ सुनिल शर्मा को अस्पताल छ । उहाँले बीमा हामीले पनि पाउनुपर्यो भन्ने माग गरिरहनुभएको थियो । उहाँले अर्थमन्त्रीले भनिदिए तुरून्तै बीमाको कुरा मिल्छ भन्नुभएको थियो । त्यो नहुनेबित्तिकै उहाँ भड्किनुभयो । यो उहाँको चरम अराजकता र अनुशासनहिनता हो ।
कांग्रेसमा संस्थापन इत्तर खेमाका सांसदका रुपमा चिनिने सांसद सुनिल शर्मा पक्राउ परेसँगै नेपाली कांग्रेसका केही सांसदहरुले नेतृत्वले उनीमाथि इगो साँधेको सिधा आरोप लगाएका छन् । संसदमा सुन तस्करीका मामलामा सांसद शर्माले कडा स्वरमा बोलेकै कारण उनलाई फरक प्रकरणमा फसाउँन खोजिएको उनीहरुको आरोप छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् : केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सिआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेका बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ?
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको यो भनाईले धेरै कुराको संकेत गर्छ । सुन तस्करी प्रकरणमा सांसद शर्माले चर्को बोल्नु नै उनी पक्राउ हुनुपर्ने कारण हो भन्ने रुपमा कांग्रेस नेता शिवाकोटीले जसरी प्रश्न गरेका छन् यो प्रश्नको जवाफ भोलिका दिन फरक फरक रुपमा आउँने देखिन्छ ।
कांग्रेसका अर्का नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने या के गर्ने भन्ने विषयमा कांग्रेस केन्द्रीय समिति बैठक दुई खेमामा विभाजित भएको थियो अब यो विषयमा कांग्रेस सांसदहरुको एउटै बोली होला त भन्ने जिज्ञासा पनि राजनीतिक वृत्तमा उब्जिएको छ । तर, बहालवाला सांसद नै किर्ते शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परिरहँदा संसदमा यस्तै प्रकरणमा मुछिन सक्ने अन्य सांसदहरुको लिष्ट पनि सिआइबीसँग रहेको गाइँगुइँ हल्ला छ । शैक्षिक योग्यताको विषय ढाँटेर सरकारी कार्यालयमा आफ्नो पढाईको स्तरमा माथिल्लो रहेको देखाउँने सांसदहरुमाथि पनि सिआइबीको नजर पुगेर सुनिल शर्माकै जस्तो समाचार आयो भने त्यो आश्चर्य नहोला ।





